बागलुङ, १५ जेठ
बागलुङको तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढाले आफुलाई राज्यकोषबाट तलब सुविधा बापत प्राप्त हुने रकमको पाँच प्रतिशत विकास निर्माणमा खर्च गर्ने घोषण गर्नुभएको छ ।
तमानखोला गाउँपालिकाले सोमबार आयोजना गरेको पदभार ग्रहण तथा स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख बुढाले आफ्नो गाउँपालिका क्षेत्रको विकास निर्माण अत्यान्त ढिलो गतिमा रहेको उल्लेख गर्दै आफूले प्राप्त गर्ने सुविधाको पाँच प्रतिशत रकम कट्टा गरी विकास कोष निर्माण गर्ने बताउनुभएको हो ।
जिल्लाकै अति विकट मानिने तमानखोला गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका विकास निर्माणको कामलाई गतिदिन आफुनो छाक काटेर जनताको सुविधामा ध्यान दिएको गाउँपालिका प्रमुख बुढाले बताउनुभयो ।
जनताले स्थानीय निकायको निर्वाचन पश्चात आफुनो क्षेत्रको मुहार फेरिने ठूलो आसा गरेका छन बुढाले भन्नुभयो– ‘हामी सबैले आ–आफ्नो ठाउँबाट सानो सानो सहयोग गर्न सकियो भने विकास र सम्वृद्धिको लागि धेरै समय कुर्नु पर्देन ।’
पदभार ग्रहण पछि गाउँपालिकाले कक्षा १२ सम्मको निःशुल्क शिक्षालाई व्यवहारिक कार्यान्वयन, निजी स्रोतका शिक्षक व्यस्थापन गर्दै गुणस्तरीय शिक्षामा जोड, विद्यालय छोडने दर न्युनिकरण गर्ने जस्ता निर्णय गरेको लेखा प्रमुख यामबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानसरी सेरचन, मुख्य निर्वाचन अधिकृत सुवासकुमार छामिछाने, वडाअध्यक्ष थमबहादुर रोका, मिनबहादुर घर्ती, निरबहादुर घर्ती, हिराबहादुर विक, कुलबहादुर छन्त्याल, सदस्य थमप्रसाद रसाईली, टिकाकुमारी दमाई , मनकुुमारीि बुढाथोकी, जनजागृती माविका प्रधानध्यापक प्रेम खडका, स्वास्थ्यचौकी प्रमुख राजन थापा बोल्नुभएको थियो ।
कार्यक्रम कार्यकारी अधिकृत खिमबहादुर विकको अध्यक्षता र लेखा अधिकृत यामबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
