
अर्जुन कार्की
बागलुङ, १२ जेठ
करदाता सेवा कार्यालय बागलुङमा दर्ता भएका ५ हजार ८१ व्यवसायी तथा संघसंस्थाहरु मध्ये १ हजार ५ सय ९८ व्यवसायी एवं संघसंस्थाहरुले हालसम्म कर बुझाएका छैनन् ।
पटक पटक फोन सम्पर्क गरेर कर बुझाउनको लागि जानकारी गराउँदा पनि नबुझाएपछि कर कार्यालय बागलुङले पत्रलेखेर कर नबुझाउने व्यवसायीहरुलाई कर बुझाउनको लागि आग्रह गरिएको कर कार्यालय बागलुङले जनाएको छ । कतिपयको फोन नम्बर फेरेका छन् त्यसकारण पत्रलेखेर जानकारीको लागि पठाइन लागेका करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले जानकारी दिनुभयो ।
कर कार्यालय बागलुङमा मुल्य अभिवृद्धिकर ५ सय ४३, शिक्षा सेवा शुल्क १७, अन्त शुल्क कर ५ सय ८०, आयकर अन्तरगत ५ हजार ८१ छन्भने स्वास्थ्य सेवा कर २२ वटा दर्ता भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को बैशाख मसान्त सम्म बागलुङमा ४ सय ७४ पसल तथा व्यवसायीहरुलाई अनगुमन गरिएको छ । जस मध्ये ३ सय ५६ वटा दर्ता भएका र ११८ दर्ता नभएको पाइएको कर दाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले बताउनुभयो ।
कारदाता सेवा कार्यालय बागलुङमा लक्ष्य भन्दा धेरै राजश्व संकलन
करदाता सेवा कार्यालय बागलुङले आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ ।
करदाता सेवा कार्यालय बागलुङले बैशाख मसान्तसम्म १० करोड ३७ लाख ५० हजार ८ सय ८४ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ करोड ८७ लाख ९१ हजार ८ सय ४ कर संकलन भएको करदाता सेवा कार्यालय बागलुङले जनाएको छ ।
बैशाख मसान्तसम्म आयकर ९ करोड ८४ लाख १८ हजार ३ सय ६०, मुल्य अभिकृद्धिकर २ करोड ३९ लाख ५२ हजार ४ सय ९० रुपैयाँ, अन्तशुल्क कर ३३ लाख ४८ हजार ४ सय, स्वास्थ्य सेवा कर ७ लाख ६१ हजार ३६ र शिक्षा सेवा कर १६ लाख ९६ हजार ३ सय ९८ रुपैयाँ कर संकलन गरिएको करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले बताउनुभयो ।
पछिल्लो समयमा करदाता सेवा कार्यालयले बजारमा कर नबुझाउने, दर्ता नगरी व्यवसाय संचालन गर्ने गरेकोहरुलाई बजार अनुगमन गरी कर समयमै बुझाउनुपर्ने बारेमा जनचेतना गराएपछि राजश्वमा बृद्धि भएको कर अधिकृत चापागाईले जानकारी दिनुभयो ।
सूचनाको हक कार्यान्वयनको लागि त्रैमासिक पुस्तक प्रकाशन
करदाता सेवा कार्यालय बागलुङले कार्यालयलाई सूचनाको हक कार्यान्वयको लागि कार्यालयको सम्पूर्ण विवरण भएको त्रैमासिक पुस्तक प्रकाशन गरेको छ ।
कार्यालयले स्वतःप्रकाशित गरि जिल्लाको पहिलो सुचना मैत्री सरकारी कार्यालय बनेको हो । सुचना हकसम्वन्धी ऐन २०६४ को दफा ५(३) तथा नियमावली २०६५ को नियम ३ ले व्यवस्था गरेका विभिन्न शिर्षक बमोजिमका सुचनाहरु आम नागरिकको सुसुचित हुने हकलाई ध्यानमा राख्दै आफ्नो निकायको जवाफदेहिता, पारदर्शिता र विश्वासनीयताका लागि नियमित रुपमा विवरण स्वतः प्रकाशित गरेको कर अधिकृत चापागाईले बताउनुभयो ।
बागलुङका अन्य सरकारी निकाय तथा सार्वजनिक निकायले स्वतः प्रकाशित नगरेको पाईएको बताइएको छ । नेपालको संविधान २०७२ को धारा २७ मा प्रत्याभुत एवं धारा २८ मा व्यवस्थित सुचनाको हकलाई संरक्षण गर्न सुचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ४ (५) र नियमावली २०६५मा प्रत्येक सार्वजनिक निकायले सार्वजनिक सरोकार एवं गतिविधीहरुको विवरण प्रत्येक ३ महिनामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।
