जिल्ला सहकारी संघको साधारणसभामा जिल्लाका तीन सहकारीकर्मी सम्मानीत

प्रशाद थापा
बागलुङ, २९ पुस
डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले जिल्लामा रहेका विभिन्न सहकारीहरुले आयमुलक तथा सचेतनामुलक कार्यक्रममा गर्नुपर्ने बताएका छन् ।
जिल्ला सहकारी संघ बागलुङको आठौँ बार्षिक साधारणसभाका उद्घाटन गर्दै शर्माले यस्तो बताएका हुन । सम्पुर्ण सहकारीहरु एकबद्ध भएर अगाडी बढ्नका लागि जिल्ला सहकारी संघले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल सूचना तथा संचार केन्द्रिय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसी, केन्द्रिय बचत तथा ऋण सहकारी संघका सञ्चालक चण्डिप्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्र खड्का, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गिता रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाका अवसरमा संघका सचिव युक्तप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुपाल चालिसेले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक तोयानाथ गौतमले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले गत आर्थिक बर्षको अन्त्य सम्म शेयर पुँजी ८ लाख ८ हजार, बचत १५ लाख १५ हजार १ सय ८० र कोष २ लाख २२ हजार ७ सय ९ सहित २८ लाख ७४ हजार ४ सय ३७ रुपैँयाको कारोबार गरेको बताइएको छ ।
संघका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी र संचालन सचिव युक्तप्रसाद कँडेलले गरेका थिए ।
संघले आफ्नो साधारणसभाको अवसरमा जिल्लाको सहकारीबाट केन्द्रिय संघको संचालक समिति तथा लेखा समितिमा रहनुभएका सहकारीकर्मीहरुलाई सम्मान गरेको थियो ।
16003117_737332473110422_4339389264325831590_nउक्त अवसरमा जिल्ला सूचना तथा संचार सहकारी संघका अध्यक्ष मनकुमारी केसी नेपाल सूचना तथा संचार केन्द्रिय सहकारी संघको उपाध्यक्षमा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा बचत तथा ऋण सहकारी संघको केन्द्रिय सदस्यमा र गुहेली संचार सहकारी संस्था लि. भीमापोखराका अध्यक्ष खिम बहादुर कार्की नेपाल सूचना तथा संचार केन्द्रिय सहकारी संघको लेखा समिति सदस्यमा चयन हुनुभएको भन्दै सम्मान गरिएको जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

२०७३ पुस २९ गते गते प्रकाशित