
बागलुङ, २९ पुस
बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७३/७४ का लागि १५ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ ।
बागलुङ नगरपालिकाको २२ औं नगर परिषदबाट प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमा पनि सामाजिक आर्थिक विकासका पुर्वाधारलाई मुख्य प्राथमिकता दिएको छ ।
नगर परिषदको निर्णय सार्वजनिक गर्दै नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बस्ती र वडा स्तरबाट आएका आवश्यक र योजनालाई आधार बनाएर पुर्वाधार विकासलाई प्राथमिकताका साथ बजेट प्रस्ताव गरिएको बताउनुभयो ।
प्रस्तावित बजेट अनुसार आय तर्फ स्थानीय कर दस्तुरबाट १ करोड ५५ लाख, राजश्व बाँडफाँडबाट ७८ लाख, केन्द्रिय अनुदान ४ करोड ११ लाख, ठुला पूर्वाधार तर्फ १ करोड, शहरी विकास पूर्वाधार कार्यक्रम तर्फ १ करोड ३१ लाख, स्थानीय शासन विकास कार्यक्रम अन्र्तगत ३० लाख, सडक बोर्ड कार्यक्रमबाट ३९ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्फ १६ लाख ४८ हजार, सामाजिक सुरक्षा तर्फ ३ करोड २० लाख ९९ हजार, जनसहभागिता ठुला पूर्वाधार विकास कार्यक्रम, सडक बोर्ड, सौर्य वत्ति जडान कार्यक्रम समेतमा १ करोड ६७ लाख, शहरी गरिबी न्युनिकरण कोषबाट ४१ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
कुल आयबाट २ करोड २५ लाख चालु खर्चका लागी बिनियोजन गरिएको छ । नगरपालिकाको पुजिगत तर्फ सबै भन्दा बढी पूर्वाधार विकासका लागि ७ करोड ७९ लाख बिनियोजन गरिएको कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । नगरपालिकाले स्वास्थ्य तथा बातावरण, सरसफाई,शहरी केन्द्र सञ्चालनका लागि ५७ लाख, सामाजिक सुरक्षा तर्फ ३ करोड २० लाख बिनियोजन गरिएको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
नगरपालिकाले बिगत बर्षदेखी सञ्चालित योजना तथा कार्यक्रमलाई दिगो बनाउने, शहरी सुशासन, बिपत जोखिम न्युनिकरण, सवारी पार्किङ, फोहोरमैला व्यवस्थापन, बातावरणमैत्री स्थानीय विकासका योजना र कार्यक्रमलाई बजेट प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव केदार शर्मा, जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, सरकारी गैरसरकारी सघं संस्था, पत्रकार महासघं लगायतका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा कार्यक्रमलाई कार्यन्वयन गर्न सुझाव दिएका थिए ।
यसैबीच, घर निर्माणको नक्सापास गर्दा बागलुङ नगरपालिकाले मनपरी गरेको भन्दै नगरबासीले बिरोध जनाए पछि बाग्लुङ नगरपालिका कार्यालयको २२ औं नगर परिषदको कार्यक्रम ४ घण्टा ढिला शुरु भएको थियो ।
विहान ११ बजेका लागि अतिथी र सरोकारवालालाई निमन्त्रणा गरे पनि नक्सा पास बारे ठोस निर्णय नगरे सम्म नगर परिषदको निर्णय सार्वजनिक गर्न नदिने अडान स्थानीयले राखेका थिए । सडक मापदण्ड लागू गर्दा मनपरी गरिएको भन्दै कार्यक्रम अगाडि बढ्न नदिएपछि परिषद निर्णय सार्वजनिकरण कार्यक्रम दिउसो पौने ३ बजे मात्र शुरु भएको थियो ।
एउटै सडक छेउमा निर्माण गरिएको आडैको घरको नक्सा पास भएको र अर्को घरको पास नभएको भन्दै समान मापदण्ड लागू गर्नका लागि निर्धारित समयमा कार्यक्रम अघि बढ्न नदिएको बागलुङ उद्योग बाणिज्य सघंका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
आक्रोशित स्थानीयले नगरपालिका कर्मचारीले घुस खाएर कसैको नक्सा पास गर्ने र कसैको नगर्ने गरेको आरोप लगाएका थिए । केही घण्टा अवरोध पछि नगरपालिकाका प्रमुख लगायतको पहलमा सर्वदलीय संयन्त्र सहित पुरानो मापदण्ड समान रुपमा लागु गर्ने निर्णय गरिए पछि परिषदको कार्यक्रम अघि बढाइएको थियो ।
