अनिवार्य बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

नवीन शिशिर
बागलुङ, २९ मंसिर
जिल्ला विकास समिति बागलुङ समिति जिल्लाका २० गाविसलाई बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ ।
शुलभ बैंकीङ सेवा प्राप्त गर्न सक्ने सम्भावना भएका २० गाविसमा चालु आर्थिक वर्षको दोस्रो किस्ता अनिवार्य बैक खाता मार्फत वितरण गर्ने तयारी गरेको जिल्ला विकास समिति पञ्जीकरण शाखाका कार्यरत नायव सुुब्बा मिनबहादुर थापाले जानकारी दिए ।
जिल्ला विकास समितिले पहिलो चरणमा विहुँ र रेश गाविसको मुक्तिनाथ विकास बैक, मालिका, पाला र लेखानीको ग्रीन डेप्लपमेन्ट बैक, धम्जा, सिगानाको गण्डकी विकास बैक, भकुण्डे रायडाडाको राष्ट्रिय वाणिज्य बैक, कुश्मीसेरा, विनामारे, सर्कुवा र दमेकका ओम डेप्लपमेन्ट बैक कुश्मीसेरा शाखा, हटिया, हरिचौर, मल्ल, बूर्तिवाङ, देवीस्थान र भिमगिठेका स्थानीयले आफुले पाएक पर्ने प्रभु विकास बैकको शाखामा खाता खोल्ने व्यवस्था गरिएको छ ।
बैक खाता नखोल्ने व्यक्तिले सामाजिक सुरक्षा भत्ता रकम नपाउने नायव सुब्बा थापाको भनाई रहेको छ । यस अघि गाविस सचिवले गाउँमै पुगेर रकम वितरण गर्दै आएका थिए । सामाजिक सुरक्षा भत्ताको पारदर्शीता र सम्बन्धी व्यक्तिले पाउन नसकेको गुनासो बढी भए पछि बैक मार्फत वितरण गर्न थालेको जिल्ला विकास समिति कार्यालयको भनाई रहेको छ ।
पछिल्लो तथ्याङ्गक अनुसार २० गाविसमा ७० वर्ष माथिका अन्य जेष्ठ नागरिक ३ हजार ४ सय ६, दलित जेष्ठ नागरिक एक हजार ६ सय ९२, एकल महिला ३ सय २६, बिधुवा महिला २ हजार ५ सय २७, पूर्ण अशक्त अपाङ्ग एक सय ६९, अति अशक्त अपाङ्ग २ सय ७४ र पाँच वर्ष मुनीका दलित बालबालिका २ हजार ४ सय एक जना रहेका छन् ।
सरकारले ७० वर्ष माथि उमेरका जेष्ठ नागरिकलाई औषधी उपचार खर्च सहित २ हजार, दलित जेष्ठ नागरिक, एकल महिला, विदुवा, पूर्ण अशक्त अति अशक्त व्यक्तीहरुलाई मासिक एक हजार प्रदान गर्दै आएको छ । बैक मार्फत चालु आर्थिक वर्षको पहिलो किस्ता सर्कुवा, विनामारे, कुश्मीसेरा र दमेकका स्थानीयले ओम डेभलपमेन्ट मार्फत प्रदान गरिएको थियो । बैंकले पनि सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीका लागि निःशुल्क बचत खाता खोल्ने व्यवस्था गरेको छ ।
यस अघि आर्थिक वर्ष ०७०/७१ को दोस्रो र तेस्रो तथा आर्थिक वर्ष ०७१/०७२ को पहिलो किस्ता जिल्ला भर बैक मार्फत वितरण गरिएको थियो । जिल्लाभर बैक मार्फत रकम वितरण गर्ने कार्य व्यवहारिक नभए पछि पुनः गाविस सचिव माफत नै वितरण गर्न थालिएको थियो । २० गाविस बाहेक अन्य गाविसमा भने गाविस सचिव मार्फत नै भत्ता वितरण गरिने छ ।