
बागलुङ, १८ बागलुङ
बागलुङमा यस बर्ष ४० करोडभन्दा बढी मूल्य बराबरको आलु उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा गरिएको बर्खे आलुखेतीबाट ११ हजार ६ सय ९४ मेट्रिक टन उत्पादन भएको कार्यालयका कृषी प्रसार प्रचार अधिकृत विप्लब अधिकारीले जानकारी दिनुभयो ।
एकै सिजनमा ४० करोड ९० लाख बराबरको आलु उत्पादन भएको छ । जसमध्ये हालसम्म ५ हजार मेक्ट्रीक्टन आलु विक्रीबाट १७ करोड ५० लाख रुपैयाँ कृषकको घरमा पुगेको अधिकारीको भनाई रहेको छ ।
जिल्लामा उत्पादन भएको आलु ५० देखि ६० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भएको छ । कृषक व्यावसायिक बन्नु, उन्नत जात भित्रिनु, पुरानो खेती प्रविधि आधुनिकीरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण हुनु, बजारको पहुँच विस्तार, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलुखेतीतर्फ कृषकको आकर्षणसँगै उत्पादन बढ्दै गएको अधिकृत अधिकारीको भनाइ छ ।
बागलुङको तारा, हिल, अर्गल, बोबाङ्ग, निसी, तमान, खुङखानी, बोङ्गादोभाग, धम्जा लगायतका गाविसलाई बर्खे आलु उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । कृषकले उत्पादन गरेको अधिकांस आलु नगदमा भन्दा पनि आफ्न्तलाई कोसेली तथा घरमा खर्च हुने गरेको जिल्ला कृषी विकास कार्यालयको तथ्याङ्ग रहेको छ ।
कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ताराखोला गाविसमा ७ सय ७५ हेक्टर क्षेत्रफलमा आलु उत्पादन भएको देखिन्छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले जिल्लामा व्यावसायिक आलु खेतीतर्फ कृषकको आकर्षण बढेको छ।
जिल्लामा उत्पादन भएको धेरैजसो आलु बागलुङ, बेनी, पोखरा र काठमाडौंमा निकासी हुने गरेको छ । परम्परागत रुपमा अन्नबालीसँग आलु साट्ने प्रचलन रहेकामा पछिल्लो समय सडक विस्तार भएपछि सहरी क्षेत्रमा निकासी हुन थालेको कृषकले बताएका छन ।
चिसो हावापानीमा प्राङ्गारिक तरिकाबाट उत्पादन भएको आलु स्वादिलो र गुणस्तरीय हुने भएकाले बागलुङको ताराखोला, ढोरपाटन क्षेत्रमा उत्पादित आलुको माग बढ्दै गएको छ । आलुखेतीको प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न ठाउँमा शीतभण्डार भवन निर्माण गर्न सहयोग गरेको छ ।