पत्रकार महासंघको भवन बनाउन फेसबुक अभियान, एक हप्तामै ५६ हजार रकम संकलन

बागलुङ, १८ कात्तिक
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि फेसबुकमार्फत सुरु गरिएको आर्थिक अभियानबाट एक हप्तामै ५६ हजार रकम संकलन भएको छ । कात्तिक ११ गतेदेखि सुरु गरिएको अभियानमा स्थानीय स्तर र विदेशबाट सहयोग प्राप्त भएको महासंघ वाग्लुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । फेसवुकबाट एकै जनाले ३ हजार देखि २० हजारसम्म सहयोग गरेका छन् ।
अहिलेसम्म नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तथा बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतमले सबैभन्दा धेरै २० हजार रुपैयाँ सहयोग गरेका छन् । केन्द्रिय पार्शदहरु दिनेश पन्त र खगराज गौतम, माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य कुसुम बुढा र युवा मिलन केसीले ५/५ हजार रुपैयाँ सहयोग गरेका छन् । फेसवुक अभियानबाट ३० लाख जुटाउने लक्ष्य राखिएको छ ।
पत्रकार महासंघको कार्यलय रहने गरी निर्माण गरिने भवनमा सूचना केन्द्र, विद्युतीय पुस्तकालय र सुविधा सम्पन्न तालिम हल बनाउने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि ६० लाख रकम आवश्यक पर्नेमा जिल्ला विकास समिति बागलुङले ५ लाख र बागलुङ नगरपालिकाले २ लाख ५० हजार बजेट विनियोजन गरेका छन् ।
‘१ लाखको संख्यामा विभिन्न विषयका सन्दर्भ पुस्तक र २० हजार पुस्तकहरु पढ्न मिल्ने गरि विद्युतीय पुस्तकालय चलाउने तयारीमा छौँ’ अध्यक्ष राजमण्डारीले भने, ‘भवन निर्माणको रकम जुटाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग पनि सक्दो सहयोग गर्न अपिल गरेका छौँ, सहयोगको प्रतिबद्धता पनि आएको छ ।’
उनले बागलुङमा २००८ सालमा पहिलो पटक प्रकाशित भएको सही बाटो नामक हस्तलिखित साप्ताहिक पत्रिकादेखि अहिलेसम्म जिल्लामा प्रकाशित सवै पत्रिका संकलन गरेर सूचना केन्द्रमा राखिने बताए ।
विद्युतीय पुस्तकालयका लागि डेनमार्कका पर्यटन दूत तथा ईलाइब्रेरी फाउण्डेशन युरोप संयोजक सोम सापकोटाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको राजभण्डारीको भनाई छ। सूचना केन्द्रका लागि ग्लोबल आईएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी भएको उनले बताए ।