करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने अनुमान

बागलुङ, १२ कात्र्तिक
यस वर्ष बागलुङमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
पर्याप्त वर्षा भएको, अनुकूल मौसम र रोगकिरा नलागेकाले धानको उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
‘यस वर्ष मनसुनको सुरुवातदेखि नै राम्रो वर्षा भएका कारण समग्रमा धानको उत्पादन विगत वर्षभन्दा राम्रो हुने अनुमान गरेका छौँ,’ जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताउनुभयो ।
५ हजार ८ सय ६२ हेक्टर जमिनमा गरिएको धानखेतीबाट २० हजार ७ सय ५० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष १८ हजार ८ सय ६५ मेट्रिकटन धान उत्पादन भएकोमा थियो ।
‘विगतका वर्षमा मौसम अनुकूल नहुँदा किसानले वेलैमा धान रोप्न नपाउँदा अपेक्षित रूपमा उत्पादन बढ्न सकेको थिएन,’ कृषि प्रसार अधिकृत अधिकारीले भन्नुभयो, ‘यो वर्ष वेलैमा रोपाइँ सकिएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ ।’
जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष धानमा रोगकिराको प्रभाव पनि नगन्य छ । उन्नत बिउ, प्रविधि, मलको सहज उपलब्धता, आवश्यकताअनुसार रोगव्याधीको उपचार लगायत संयुक्त प्रयास गरेर उत्पादकत्व बढाउन पहल गरिएको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।
बागलुङको बागलुङ नगरपालिका, हटिया, हरिचौर, खर्वाङ्ग, कुश्मीसेरा, अर्जेवा, जैदी लगायतका गाविसलाई धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् । पछिल्लो समय जिल्लाको बातावरण अनुसार सुधारिएको जेठो बुढो, खुमाल–४, लुम्ले–२, स्थानीय जातको धानको विउ सिफारिस गरिएको छ ।