बिद्यामन्दिरको महायज्ञमा ४ करोड ९२ लाख संकलन

बागलुङ, ११ कात्तिक
भुकम्पबाट क्षतिग्रस्त भवन पुर्ननिर्माणका लागि बागलुङमा सञ्चालित कालीगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सव एवम् बिद्या मन्दिर धन धान्याञ्चल ज्ञान महायज्ञ बुधवार सकिएको छ ।
गत कात्तिक ३ गतेदेखी सञ्चालित धार्मिक महोत्सव तथा महायज्ञमा करिव ५ करोड रुपैयाँ संकलन भएको आयोजकले जनाएका छन् ।
धौलागिरिको सवैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माविको बिनाशकारी महाभूकम्पले भवन क्षतिग्रस्त भएपछि सुविधा सम्पन्न २५ कोठाको भवन निर्माण र शैक्षिक गुणस्तर बृद्धिका लागि आयोजित महायज्ञबाट ४ करोड ९२ लाख ५१ हजार ८ सय ७० संकलन भएको महायज्ञका महासचिव डिल्लीराज गौतमले दिनुभयो ।
महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार बुधबार भने २१ लाख ५५ हजार ८ सय ४३ संकलन भएको छ । यसमध्ये १८ लाख ७६ हजार ९ सय ४१ नगद र वाक्दान अन्तर्गत २ लाख ७८ हजार ९ सय २ संकलन भएको छ । दानपात्रबाट ७९ हजार ६ सय ४६ संकलन भएको छ ।
धार्मिक तथा शैक्षिक महोत्सव एवम् महायज्ञ समापनका अवसरमा बोल्दै शिक्षासेवी ओमकारप्रसाद गौचनले आफ्ना पिता ओमप्रसाद गौचन र अर्का संस्थापक मेघकुमार वैद्यले त्यतिबेला निकै संघर्षका बीचमा विद्यामन्दिर स्कुल स्थापना गर्न गरेको स्मरण गर्दै विद्यालयले अबका दिन आधुनिक र गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । अब विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिई स्कुल नमूना बनाउनु पर्नेमा वत्ताहरुले जोड दिएका थिए ।
महायज्ञमा स्थापनाकाल देखी हाल साल सम्मका एसएलसी उत्र्तिण बिद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम समेत गरिएको थियो । १९९७ सालमा स्वर्गिय ओमप्रसाद गौचन र मेघकुमार बैद्यले स्थापना गरेको बिद्यालयबाट अहिले सम्म ५ हजार बिद्यार्थीले एसएलसी परिक्षा पास गरिसकेको बताइएको छ ।
महायज्ञमा गोविन्दशरण महाराजले कथा बाचन र मीरादेविले संगितमय प्रबचन गर्नुभएको थियो ।