एक वर्षको आम्दानी १ करोड ५४ लाख

बागलुङ, १६ असोज
धौलागिरीको पहिलो संचार सहकारी आदर्श सञ्चार सहकारी संस्था बागलुङले गत आर्थिक बर्षमा १ करोड ५४ लाख भन्दा बढि आम्दानी गर्न सफल भएको छ ।
सहकारीको १० औँ बार्षिक साधारणसभामा आर्थिक बर्ष ०७२/७३ मा कुल १ करोड ५४ लाख ८६ हजार १ सय ९२ रुपैँया आम्दानी गर्न सफल भएको संस्थाले जानकारी दिएको छ । जसमध्ये १ करोड ४५ लाख २२ हजार ४ सय ९२ खर्च भएको संस्थाका कोषाध्यक्ष अनन्त खड्काले जानकारी दिनुभयो ।
उक्त साधारणसभाको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।  साधारणसभाका अवसरमा सहकारीद्धारा प्रकाशित हुने धौलागिरि जागरण पत्रिकामा लेख प्रकाशन गर्दै आउनुभएका देबबहादुर श्रेष्ठको ‘के सोचे के भयो जिवनका भोगाई र अनुभुतीहरु’ भाग–२ को बिमोचन गरिएको थियो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मनकुमारी केसी, समाजसेवी एवं लेखक देबबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, बहुउद्देश्यीय सहकारी संघका सचिव रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरिष, राष्ट्रिय सहकारी बैँकका बागलुङ शाखा प्रमुख सुरेश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले संस्थाका सचिव प्रेम लामिछानेद्धारा प्रस्तुत प्रगती प्रतिवेदन, कोषाध्यक्ष अनन्त खड्काद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मिनबहादुर केसीले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत, सल्लाहकार डिलबहादुर कार्कीको धन्यवाद मन्तव्य र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।