उमाकान्त शर्मा
बागलुङ, ३१ साउन
यूनिक सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा धौलागिरी विरेन्द्र उच्च मा.वि.का पूर्व प्रधानाध्याक कृष्णामैया अधिकारीले आफ्ना आमा वुवाको नाममा स्थापना गरेको टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेशचन्द्र राजभण्डारी र भाषा शर्मालाई प्रदान गरिने भएको छ ।
पुरस्कार समितिको आईतवार वसेको
वैठकले एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता राजभण्डारी र नागरिक दैनिकका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी जनही नगद १० हजार १ सय ११ र सम्मान पत्र रहेको छ ।
अधिकारीले आफ्ना बाबा स्वर्गिय टिका वहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो । यो पुरस्कार प्रत्येक वर्ष एक जना पुरुष पत्रकार र एक जना महिला पत्रकारलाई प्रदान गरिने समितिका सदस्य सचिव हरिनारायण गौतमले वताउनुभयो ।
राजभण्डारीले २०४३ सालमा मातृभूमी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनी नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सभापति भईसकेका छन् । शर्माले २०५९ मा उषाकालिन साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कोषाध्यक्ष भइसक्नुभएको छ ।
स्मृति पत्रकारिता पुरस्कारको लागि अधिकारीले १ लाख १ हजारको अक्ष्य कोष स्थापना गर्नुभएको हो । महिलाबाट आफ्ना आमावुवाको नाममा स्थापना गरिएको यो नै जिल्लाको पहिलो पुरस्कार हो । पुरस्कार सञ्चालन गर्न संरक्षक कृष्णामैया अधिकारी, सल्लाहकार रिद्धिराज अधिकारी, सदस्य सचिव ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सदस्य नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी रहेको समिति गठन गरिएको छ । संस्थापक अधिकारीका अनुसार उक्त पुरस्कार ढोरपाटन दैनिकले सञ्चालन गर्नेछ र हरेक बर्ष उक्त पत्रिकाको बार्षिकोत्सवका अवसरमा दुई पत्रकारलाई प्रदान गरिनेछ ।