बागलुङ, ११ साउन/ राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विगत डेढ महिनादेखि ट्रमा सेन्टरमा उपचार गराइरहेका पत्रकार सेजुवालको उपचारमा आर्थिक अभाव देखिएपछि चौतारीको मंगलबार बसेको बैठकले नगद पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
बोन टीभीबाट पीडित पत्रकार सेजुवाल प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य एवं कर्णाली अञ्चल इञ्चार्ज रहनुभएको थियो । उहाँको उपचारमा आर्थिक अभाव भएपछि चौतारीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबाट सहयोग संकलन गरी सोमबार ८१ हजार हस्तान्तरण गरेको थियो ।
परीक्षणको क्रममा बोन टीबीको रोग पत्ता लागेपछि गत २७ असारमा उहाँको सफल सल्यक्रिया गरिएको थियो । सल्यक्रियापछि सेजुवाल अस्पतालमै आराम गरिरहनुभएको छ । बैठकले नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सुरु गरेको भवन निर्माण अभियानलाई सक्दो सहयोग गर्ने निर्णय गरेको प्रेस चौतारी शाखा उपाध्यक्ष नवीन शिशिरले जानकारी दिनुभयो ।
बैठकले शाखा सदस्य कमला क्षत्रीका बुवाको निधन प्रति सोक प्रस्तावपारित गर्दै सोकाकुल परिवार प्रति समावेदना प्रकट गरेको थियो । प्रेस चौतारी जिल्ला शाखा अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा बसेको बैठकको संचालन सृजना पन्तले गर्नुभएको थियो ।