श्रम र संघर्षले जन्माएको “सिर्जना”

नारायण रिजाल
बागलुङ, ३० असार । “सिर्जना फर्निचर” नाम धेरैका लागि केवल एउटा फर्निचर पसल होइन, संघर्ष, आत्मविश्वास र श्रमले कोरेको सफलताको प्रतीक बनेको छ । तर यही फर्निचर र यहाँ उत्पादन हुने ब्रान्डको पछाडि एउटा यस्तो कथा लुकेको छ, जहाँ अभाव,  उपेक्षा , संघर्ष  र अन्ततः सफलता पनि ।

बागलुङ नगरपालिका वडा नं.–१३ पैयुँपाटाको डाँडमा सामान्य परिवारमा जन्मिएका विराज हरिजनका लागि जीवन कहिल्यै सजिलो थिएन । बुबा ताराखर सार्की र आमा शान्ति सार्की गाउँघरमा ज्यालादारी गरेर परिवार पाल्नुहुन्थ्यो । बिहान काम खोज्न निस्कने बाबुआमालाई हेर्दै हुर्किनुभएका विराजले बाल्यकालमै जीवनको कठोर यथार्थ बुझिसक्नुभएको थियो । उहाँले बाबु आमाको संघर्षलाई सानै देखी नजिकबाट नियाल्नुभयो ।

बुबा घर, गोठ, ढुंगा–माटो र काठको काम गर्नुहुन्थ्यो । विराज सानैदेखि बाबुको पछिपछि लाग्नुहुन्थ्यो । बाबुले काठ काटेको, घर बनाएको र पसिना बगाएको दृश्य उहाँका लागि विद्यालयभन्दा ठूलो पाठशाला बन्यो । त्यही पाठशालाले उहाँलाई सीपको महत्व सिकायो । त्यही भएर होला उहाँलाई निरन्तर विद्यालय जाने मन पनि लागेन र विद्यालयको तहको शिक्षा आर्जन गर्न पनि । उहाँ विद्यालय भन्दा पनि काममा नै ध्यान दिन थाल्नुभयो ।

बाबुको सिपलाई पछ्याउँदै आउनुभएका विराज १२ वर्षको उमेरमै कामको खोजीमा पर्वतको कुश्मा बजार पुग्नुभयो । बाल्यकालका रहरहरू त्यतिबेला जीविकोपार्जनको संघर्षमा हराइसकेका थिए । कुश्मामा केही समय काम गरेपछि उहाँ बागलुङको रजनी फर्निचर पुग्नुभयो । त्यहाँ उहाँले काठलाई आकार दिने कला सिक्नुभयोे । त्यसपछि कालिका फर्निचरमा पनि काम गर्दा उहाँको सीपमा निखारता आयो । उमेरले १९ वर्ष टेक्दै गर्दा विराजको मनमा एउटा प्रश्न उब्जियो– “सधैं अरूकै लागि काम गर्ने कि आफैं केही गर्ने?” यही प्रश्नले उहाँको जीवनको दिशा बदल्यो ।

बागलुङ बजारमा नै काम गर्ने क्रममा उहाँ सिर्जनासँग विवाह बन्धनमा बाँधिनुभयो । प्रेम विवाह गर्नुभएका विराजकी श्रीमती सिर्जना उहाँको जीवनयात्राकी सहयात्री मात्र होइन्, संघर्षका हरेक मोडमा साथ दिने सारथी बन्नुभयो । त्यो बेला विराजसँग एउटा पुरानो एलेन्जर मेसिन बाहेक केही थिएन । न पूँजी थियो, न ठूलो कार्यशाला, न कुनै पहुँच । तर उहाँसँग एउटा कुरा थियो– सीपमाथिको अटल विश्वास ।

विराजको बागलुङ नगरपालिका–३ गुठीमा एउटा सानो टहरोबाट फर्निचर व्यवसायको यात्रा सुरु भयो । सुरुमा घरमा पूजा गर्न राखिने साना मन्दिर बनाउन थाल्नुभयो । अन्य फर्निचरमा काम गर्दै आउनुभएका विराजले आफैले व्यवसाय सुरु गर्दा परिवारले भने, “व्यवसाय नगर, अरूकैमा काम गर, जोखिम धेरै छ ।” तर विराजले अरुको आवाज सुन्नुभएन्, आफ्नो मनको आवाज सुन्नुभयो ।  उहाँले जोखिम रोज्नुभयो । साथमा रहेको दुई हजार पाँच सयबाट आफ्नो व्यवसाय यात्रा तय गर्नुभएका उहाँसँग  राम्रो काठ किन्ने पैसा समेत थिएन । नजिकैको कालिका फर्निचरबाट फालिने बक्कल (काठको बाहिरी भाग) ल्याएर उनले टेबल, कुर्सी, ¥याक र अन्य सामग्री बनाउन थाल्नुभयो । आज करोडौंको कारोबार गर्ने विराज कहिलेकाहीँ ती दिन सम्झनुहुन्छ ।

“हिजो फालिएको बक्कल बोकेर सामान बनाउने मान्छे थिएँ, आज आफैं काठ किन्ने अवस्थामा पुगेको छु । त्यो सम्झँदा अझै गर्व लाग्छ”, विराज भन्नुहुन्छ । बुद्धचोकमा चारवटा टिनको पाता जोडेर बनाइएको सानो टहरोबाट सुरु भएको व्यवसाय विस्तारै फैलिन थाल्यो । हातले बनाएका सामग्रीको फिनिसिङ यति राम्रो हुन्थ्यो कि तयार भएको सामान लामो समय पसलमा बस्दैनथ्यो ।

जब श्रीमतीले काँधमा काठ बोक्नुभयो
संघर्षका ती दिन केवल आर्थिक अभावका कथा थिएनन्, ती श्रीमान–श्रीमतीको साझा यात्राका कथा पनि थिए ।  काठ किन्ने पैसा जुटाउनै मुस्किल थियो । ढुवानीका लागि ट्याक्टर भाडा त झन् टाढाको कुरा ।  त्यसैले विराज र सिर्जनाले मालिका र मूलपानीमा पुगेर अरु कसैले किनेका रुखमा बाँकी रहेका हाँगा आफैं बोकेर ल्याउनुभयो । त्यसलाई कला दिने र केही नयाँ सामाग्री निर्माण गर्ने निधो गर्नुभयो । दैनिक रुपमा दुई जनाले नै काँधमा काठ बोक्ने र फर्निचरमा ल्याउने गर्नुहुन्थ्यो ।  त्यही क्रममा उहाँहरूलाई शंका गरियो । दुःख गरेर ल्याएको काठका कारण प्रहरीसम्म पुग्नुप¥यो । केही व्यक्तिले फसाउने प्रयास पनि गरे । ती दिन सम्झँदा विराजको स्वर अझै भावुक बन्छ ।

“हामीले चोरी गरेका थिएनौं, कसैको हक मारेका थिएनौं । तर गरिब र सोझो भएकै कारण धेरैले शंका गरे । दुःखले भन्दा पनि त्यो अपमानले बढी पोल्थ्यो।” सिर्जना पनि ती दिन बिर्सन सक्नुहुन्न । “छोरा सुतेपछि साँझतिर मुलपानी पुगेर रुखका हाँगालाई काठको रुपमा बोक्ने गथ्र्यौं । दाउराका लागि ल्याइने काठबाट टेबल–कुर्सी बनाउँथ्यौं । कहिलेकाहीँ यसरी खै कतिदिन सम्म चल्ने हो भन्ने चिन्ता हुन्थ्यो । तर हार मान्ने सोच कहिल्यै आएन ।” भनिन्छ, अभावले मानिसलाई या त तोड्छ, या झन् बलियो बनाउँछ । हामीलाई त्यो अभावले झन् दृढ बनायो ।

सिर्जनाले राम्रो भविष्यको खोजीमा कोरियन भाषा अध्ययन गर्नुभयो, आवेदन पनि दिनुभयो् र कोरिया जानका लागि नाम समेत निस्कियो । तर जीवनले उहाँको लागि अर्कै बाटो रोजेको थियो । विदेशको आकर्षक अवसरलाई विराजले त्याग्न लगाउनुभयो सिर्जना पनि त्यसलाई त्यागेर  श्रीमान्को संघर्ष र सपनामाथि विश्वास गर्नुभयो । यदि त्यतिबेला सिर्जना कोरिया जानुभएको भए, सायद आजको “सिर्जना फर्निचर“ यो उचाइमा पुग्ने थिएन । उहाँले विदेशको सपना छोडेर आफ्नै माटोमा पसिना बगाउने निर्णय गर्नुभयो, जसको प्रतिफल आज एउटा सफल व्यवसाय, दर्जनौंको रोजगारी र स्थापित ब्रान्डका रूपमा देखिएको छ ।

आगलागीले खरानी बनाएको सपना
२०६६ सालमा विधिवत् फर्निचर व्यवसाय सुरु गर्नुभएका विराजको यात्रा सधैं उकालो मात्र थिएन । फर्निचर व्यवसायी सुरु गरेको केही वर्षमा नै उहाँको फर्निचरमा आगलागी भयो । वर्षौंको मेहनत, पसिनाले जोडिएको सम्पत्ति केही घण्टामै खरानी बन्यो । त्यो क्षण उहाँ जीवनकै सबैभन्दा ठूलो निराशामा पुग्नुभयो । तर त्यही बेला सिर्जनाले उहाँको हात समात्नुभयो । जब फर्निचर जलेपछि विराज चिन्तमा हुनुहुन्थ्यो  व्यवसायनै छाड्ने पक्षमा पुग्नुभएको थियो सिर्जनाले ढाडस दिनुभयो र भन्नुभयो् “हिजो २ हजार ५०० रुपैयाँबाट सुरु गरेका थियौं, फेरि उठ्न सक्छौं, हामीले गरिराखेको व्यवसाय छाड्नु हुँदैन ।” त्यही विश्वासले विराज फेरि उठ्नुभयो । खरानी टौटकाएर उहाँ फेरि उभिनुभयो । पुरानो ठाउँमा छाडेर बागलुङ नगरपालिका –४ कुँडुलेमा फर्निचर उद्योग संचालनमा ल्याउनुभयो । फर्निचर उद्योगसँगै उहाँले बागलुङ बजारको हल्लनचोकमा सिर्जना फर्निचर उद्योगको सोरुम पनि संचालन गर्नुभयो । पछि पुन गुठीको पेन्सन क्याम्प चोकमामा नयाँ सोरुम स्थापना गरे उहाँको व्यवसाय झनै बढ्दै गयो । विराज र सिर्जनाको  विस्तारै व्यवसाय बागलुङ बजार हुँदै म्याग्दीको बेनीसम्म फैलियो । अहिले व्यवसायमा ट्याक्टर भ्यान, र आफु चढ्ने गाडीसँगै म्याग्दी बागलुङमा एक÷एक फर्निचर र तिन सोरुम रहेका छन । उहाँको सोरुममा फर्निचरका सामाग्रीसँगै पर्दा र अन्य सामाग्रीहरु पनि विक्रि गर्ने गरिन्छ ।

सीपले बनायो करोडपति
विराजको औपचारिक शिक्षा धेरै छैन । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन सक्नुभएन्् तर जीवनले उहाँलाई एउटा अमूल्य सम्पत्ति दिएको थियो– सीप । विद्यालयका प्रमाणपत्रभन्दा हातको कलालाई भरोसा गर्नुभयो । आज उहाँसँग भ्यान, गाडी, मेसिनरी र संरचना गरी पाँच करोड रुपैयाँ भन्दा बढीको लगानी रहेको छ । २ हजार ५०० रुपैयाँबाट सुरु भएको यात्रा आज करोडौंको व्यवसायमा रूपान्तरीत भएको छ । हाल सिर्जना फर्निचरमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कर्मचारीहरूले न्यूनतम २२ हजारदेखि ४० हजारसम्म मासिक तलब पाउँछन् ।

समाज बुझेका, समाजमा भिजेका बिराज
व्यवसायमा सफल बनेपछि विराज समाजबाट टाढा हुनुभएन् । विपन्न बालबालिकालाई सहयोग गर्ने, विद्यालयलाई सामग्री उपलब्ध गराउने, सरसफाइ अभियान सञ्चालन गर्ने, सडकका खाल्टा–खुल्टी पुर्ने अभियानमा सहभागी हुने लगायतका सामाजिक काममा उहाँ सक्रिय हुनुहुन्छ । आफ्नै गाउँमा सार्वजनिक शौचालय निर्माणमा समेत उहाँले सहयोग गर्नुभएको छ ।

आज विराजलाई धेरैले सफल व्यवसायीका रूपमा चिन्छन ्। तर उहाँ आफूलाई अझै पनि त्यही गाउँको श्रमिक ठान्नुहुन्छ । “मैले रिक्सा पनि चलाएँ, काठ पनि बोकेँ, मजदुरी पनि गरेँ । मानिस कामले कहिल्यै सानो हुँदैन, सोचले हो ।” विराज भन्नुहुन्छ । पहिलो, हातमा सीप हुनुपर्छ, दोस्रो, परिवारको साथ हुनुपर्छ, तेस्रो, निरन्तर मेहनत गर्न सक्ने आँट हुनुपर्छ,  “मेरो धेरै पढाइ छैन । तर हातमा सीप थियो । त्यही सीपले मलाई यहाँसम्म ल्यायो।”

विराज सघर्षको कथा केवल एक व्यवसायीको सफलता होइन, यो सीप, श्रम र आत्मविश्वासले अभावलाई पराजित गर्न सक्छ भन्ने जीवित उदाहरण हो । यसका साथै युवाका लागि प्रेरणाको श्रोत पनि हो ।  कुनै समय चारवटा टिनको पातामुनि भविष्य खोजिरहेका विराज आज धेरै युवाका लागि प्रेरणाको नाम बनेको छ । उहाँसँग करोँडौको सम्पती छ र आफ्नै घर पनि । जुन दिन उनीहरू श्रीमान श्रीमती मिलेर काँधमा काठ बोकेर फर्किनुहुन्थ्यो सायद कसैले कल्पना पनि गरेको थिएन कि यही जोडी एक दिन बागलुङको स्थापित फर्निचर ब्रान्डको मालिक बन्नेछ । अभावले थिच्यो, आगलागीले जलायो, समाजले शंका ग¥यो, तर उहाँहरूको सपना कहिल्यै मरेन । संघर्षको त्यो लामो यात्राको नाम हो – विराज हरिजन ।  उहाँको व्यवसायीक संघर्षले एउटा सन्देश दिन्छकी “ठूलो सपना देख्न पैसा चाहिँदैन, सपना पूरा गर्न निरन्तर मेहनत र सीप चाहिन्छ ।”