
बागलुङ, २५ कात्तिक । साविक धौलागिरिको पहिलो बिधुतीय सञ्चार माध्यम धौलागिरि एफएम बागलुङले तीन दिने कार्यक्रमसहित आफ्नो २१ औ बार्षिकोत्सव मनाउन शुरु गरेको छ ।
धौलागिरीको आकाशमा पहिलो विधुतिय तरंगको रुपमा २०६१ साल कार्तिक २७ गतेबाट प्रसारण सुरु गरेको धौलागिरी एफएफले २१ बर्ष पुरा गरि २२ बर्ष प्रवेशको अवसरमा त्रिदिवसीय कार्यक्रम शुरु गरेको हो ।
कार्तिक २५, २६ र २७ गते बिभिन्न कार्यक्रम गरि २१ औ बार्षिकोत्सव मनाउने निर्णय अनुसार पहिलो दिन मानवसेवा आश्रमको भवन निर्माण र अक्षयकोष श्रीबृद्धिका लागि २१ हजार २ सय ६१ रुपैया सहयोग गरिएको एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिनुभयो ।
आश्रमको भवन निर्माण र अक्षयकोष श्रीबृद्धिका बागलुङ नगरपालिका ४ निरयघाटमा संचालित श्रीमद् भागवत् सप्ताह ज्ञानबिज्ञान महायज्ञमा पुगि सहयोग गरिएको एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो दिन कात्तिक २६ गते ‘रेडियोः बिगत, बर्तमान र भविश्य’ बिषयक अन्तरसंवाद कार्यक्रम गर्ने र तेस्रो दिन कात्तिक २७ गते सम्मान सहित मुल समारोह आयोजना गरिएको छ ।
दोस्रो दिन कार्तिक २६ गतेको अन्तरसंवाद कार्यक्रममा बरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठले ‘रेडियोः बिगत, बर्तमान र भविश्य’ बिषयक कार्यपत्र प्रस्तुत गर्नु हुने र गण्डकी प्रदेश रजिष्ट्रार बिमला भण्डारी प्रमुख बक्ताको रुपमा रहनु हुने एफएमका सम्पादक ताराप्रसाद शर्माले बताउनुभयो । एफएमले स्थापना दिवसको अवसरमा हरेक बर्ष कला, साहित्य, खेलकुद र सिर्जनातर्फ प्रतियोगितात्मक एवं रचनात्मक कार्यक्रम गर्दै आइरहेको सम्पादक शर्माले बताउनुभयो ।
एफएमले विहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घण्टा समाचार, मनोरञ्जन, ज्ञान विज्ञान, वहस, छलफल, कृषी, शिक्षा, साहित्य सिर्जना, लोक संगित, रेडियो नाटक लगायतका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ । एफएमको नाटक ‘बिम्ब दर्पण’ यसक्षेत्रकै चर्चित नाट्य श्रंखलाको रुपमा स्थापित छ ।
