
बागलुङ, २३ कार्तिक । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ जारी दिव्य श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन (आईतबार) ३८ लाख ३० हजार रकम संकलन भएको छ।
महायज्ञमा दाताहरूले न्यूनतम रकम ५ हजारदेखि ५ लाखसम्म दान गरेका छन् । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारकाे दान गरिरहेका छन् ।
सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा बेघर मानवको पुनर्स्थापनाका लागि निर्माणाधीन आश्रमकाे भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । सोमबार स्थानीय दातादेखि परदेशमा रहेका सहयोगी मनका धनीहरूबाट उत्साहजनक योगदान प्राप्त भएको आश्रमका संयोजकहरूले जानकारी दिएका हुन् ।
आश्रमकाअनुसार, संकलित रकम भवन निर्माण र विस्तारका लागि प्रयोग गरिनेछ। साथै, सोमबार महायज्ञ प्रारम्भपूर्व सहयोग गर्ने दाताहरूलाई विशेष सम्मान समेत गरिएको आश्रमले जनाएको छ ।
निरयघाटमा गत शुक्रबारदेखि शुभारम्भ भएको महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । मानवसेवा र परोपकारको भावनालाई आत्मसात् गर्दै, सम्पूर्ण भक्तजनहरूलाई महायज्ञमा उपस्थित भइ पुण्यलाभ लिनहुन आश्रमले आग्रह गरेको छ ।
