
बागलुङ, ९ असार । बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड ९० लाख रुपियाँको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले आईतबार आगामी आव २०८२/०८३ को लागि ३८ करोड ९० लाख ४० हजार आठ सय २८ रुपियाँ बजेट विनियोजन गर्नुभएको हो । उहाँले कुल विनियोजन योग्य बजेट १६ करोड ८ लाख ५१ हजार ६ सय २० रुपियाँ र सोमध्य प्रशासनिक खर्चतर्फ ४ करोड ९८ लाख ४९ हजार तीन सय तीन रुपियाँ र पुँजीगततर्फ ७ करोड चार लाख ८० हजार रुपियाँ विनियोजित गर्नुभएको छ ।
गाउँपालिकाले वडास्तरीय योजना तथा कार्यक्रमका लागि तीन करोड र विषयगत शाखाहरुका लागि तीन करोड ५६ लाख १६ हजार पाँच सय २५ रुपियाँ, समपुरक कोष तर्फ एक करोड ७९ लाख रुपियाँ र गाउँपालिकास्तरीय योजना तथा कार्यक्रमहरुका लागि दुई करोड ९५ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले संघिय सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ७ करोड ४१ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ५३ लाख ९२ हजार ६ सय २०, सशर्त अनुदान चालुबाट १८ करोड ७६ लाख, सशर्त अनुदान पूँजीगत २५ लाख र गण्डकी प्रदेशसरकारबाट वित्तीय समानीकरण अनुदानमा ८८ लाख ८५ हजार रुपियाँ, राजश्व बाँडफाँड ६९ लाख ७४ हजार र नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान ९१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विषेश अनुदान ४० लाख र समपूरक अनुदान ६०९ लाख, गत आवको अल्या ७७ लाख ८९ हजार दुई सय आग रुपियाँ र गाउँपालिकाको आन्तरिक आय ३५ लाख प्राप्त हुने अनुमान गरेको छ ।
बरेङले आर्थिक विकास तर्फ ३ करोड १० लाख ५० हजार रुपियाँ, डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि १० लाख रुपियाँ, ‘साना किसानसँग बरेङ’ कार्यक्रमका लागि ८० लाख रुपियाँ, तरकारी खेतीमा आत्मनिर्भर बनाउन १२ लाख रुपियाँ विनियोजन गरेको छ ।
यस्तै उपाध्यक्ष पुनले शिक्षातर्फ १५ करोड ९६ लाख ९६ हजार तीन सय रुपियाँ, स्वास्थ्यतर्फ ५ करोड २३ लाख ४० हजार दुईसय २५ रुपियाँ, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण शाखातर्फ २४ लाख रुपियाँ बजेट विनियोजित गर्नुभएको छ ।
बरेङले गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न २ करोड रुपियाँ बजेट विनियोजित गरेको छभने बरेङ गाउँपालिकाको केन्द्रदेखि गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्रसम्म (गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसँग) जोड्ने रणनैतिक महत्वको हुग्दिशिर नयाँबजार सडक स्तरोन्नति तथा कालोपत्रे गर्न संघ र प्रदेश सरकारको साझेदारीमामा कार्यान्वयन गर्न २ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
