
बागलुङ, ९ असार । बागलुङको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८२/८३)को लागि ७१ करोड ७४ लाख रुपियाँको बजेट ल्याएको छ ।
गलकोट नगरपालिकाका नगरउपप्रमुख फमलाल निउरेले शनिबार सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार चालुतर्फ ५१ करोड ४२ लाख ३६ हजार छ सय रुपियाँ र पूँजीगततर्फ २० करोड ३१ लाख ६९ हजर गरी कुल ७१ करोड ७४ लाख पाँच हजार छ सय रुपियाँ बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले संघिय सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, राजश्व बाँडफाँटबाट १० करोड ४८ लाख ७५ हजार ९ सय ६४, सशर्त अनुदानबाट ३६ करोड ५३ लाख, विशेष अनुदानबाट १ करोड ३६ लाख प्राप्त हुने अनुमान गरेको छभने गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा १ करोड ४८ लाख २१ हजार, राजश्व बाँडफाँटबाट १ करोड २० लाख १ हजार, विशेष अनुदानबाट ४० लाख, समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरेको छ ।
उपप्रमुख निउरेले आन्तरीक राजश्व १ करोड ९३ लाख बजेट विनियोजित गर्नुभएको छ । यस्तै उपप्रमुख निउरेले युवा लक्षित कार्यक्रम तथा खेलकुदको लागि १८ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणको लागि ५९ लाख, कला सँस्कृति र साहित्य तर्फ ४ लाख, सहकारी क्षेत्रको विकास र प्रवर्धनको लागि ४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको लागि ३८ लाख र वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रको लागि ५० लाख रुपियाँ विनियोजित गर्नुभएको छ । यस्तै भौतिक पूर्वाधार तर्फका योजना कार्यान्वयन गर्न संघिय सर्शततर्फ १ करोड २० लाख र गलकोट नगरबाट ८ करोड १३ लाख र संघिय र प्रदेश अनुदान अन्तरगर्त ३ करोड १२ लाख गरि ११ करोड ६५ लाख, उद्यमशीलता विकास तथा रोजगारी प्रवर्धनको लागि संघीय सशर्त अनुदान ३७ लाख र नगरपालिकाबाट १४ लाख गरी ५९ लाख १४ हजार र पर्यटनमा १२ लाख रुपियाँ विनियोजित गरिएको छ ।
आर्थिक विकास अन्तर्गत कृषि तथा बागवानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नको लागि संघीय सशर्त अनुदानबाट २३ लाख १ हजार र नगरपालिकाबाट विनियोजित ६५ लाख गरी ८८ लाख १ हजार, पशुपंक्षी विकास क्षेत्रको लागि संघिय सशर्त अनुदानबाट १९ लाख १० हजार र नगरपालिकाबाट ३६ लाख गरी ५५ लाख १० हजार र सामाजिक विकासमा नगरपालिको ८ लाख, संघिय शसर्त २ लाख र प्रदेश शसर्त २ लाख गरि १२ लाख रुपियाँ विनियोजित गरेको उपप्रमुख निउरेले बताउनुभयो ।
यस्तै शिक्षा तर्फ नगरपालिको २ करोड २८ लाख, सशर्त अनुदान ३० करोड ११ लाख, संघिय विशेष अनुदान तर्फ १ करोड ३६ लाख र प्रदेश विशेष अनुदानमा ४० लाख गरि ३४ करोड १५ लाख रुपियाँ, स्वास्थ्य तर्फ नगरपालिकाको २ करोड ३७ लाख, शसर्त अनुदान सहित ५ करोड ५६ लाख गरी ७ करोड ९३ लाख विनियोजन गरिएको छ ।
