एक करोडको अक्षयकोष स्थापना

बागलुङ, ३ बैशाख । बागलुङ सेवा समाज दोहा कतारको अगुवाइमा एक करोड रुपियाँको बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको स्थापना गरिएको छ । समाजले कोष संचालनको लागि संचालक समिति गठन गरेर अभियान संचालन गरेको छ ।

समाजको कोष सञ्चालक समितिले मंगलबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर दैवीप्रकोप उद्धार, उपचार सहयोग, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार तथा रचनात्मक काम गर्ने लक्ष्यका साथ कोषको स्थापना गरिएको जनाएको हो । ‘बागलुङ थन्मथलो भई वैदेशिक रोजगारीको शिलशिलामा दोहा कतार पुग्नुभएका बागलुङ्गेहरुबाट जिल्लामा आईपर्ने समस्यामा सहयोगका लागि एक करोडको अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ,’ कोष संचालक समितिका सदस्य भरत पौडेलले भन्नुभयो,‘त्यसका लागि बागलुङ सेवा समाज दोहा कतार मूल संरक्षक रहने गरी अक्षयकोष सञ्चालक समिति बनेको छ ।’

समाजका संरक्षक होमनाथ शर्माले एक करोडको कोष स्थापनाका लागि हालसम्म ५० लाख रुपियाँ संकलन भइसकेको जानकारी दिनुभयो । ‘एक करोड रुपियाँ पु¥याउने लक्ष्यका साथ रकम संकलन भइरहेको छ । हालसम्म ५० लाख रुपियाँ संकलन भैसक्यो,’ उहाँले भन्नुभयो,‘५० लाख रुपियाँ संकलनको सहयोग अभियान र अप्रिल १८ तारिकमा कतारमा विशेष सांगितिक कार्यक्रमको आयोजना गरिएको छ ।’

कम्तीमा एक करोडको कोषको वार्षिक हुने आम्दानीबाट २५ प्रतिशत स्वास्थ्य, २५ प्रतिशत शिक्षा, २० प्रतिशत खेलकुद, १० प्रतिशत कला साहित्य र संस्कृति तथा २० प्रतिशत रकम भैपरी आउने समस्यामा आर्थिक सहयोग गर्ने गरी कार्यविधि तय गरिएको सदस्य पौडेले जानकारी दिनुभयो । उहाँले कोष संचालक समितिको कार्यविधि जिल्ला प्रशासनमा दर्ता प्रक्रियामा रहेको बताउनुभयो ।

सदस्य पौडेलले अहिलेसम्म बागलुङबाट कतार पुगेकाहरु ४० देखि ५० हजार रहेको बताउँदै उहाँहरुबाट कोषमा सहयोग संकलन अभियान संचालन भइरहेको र बागलुङका सबै घर परिवारबाट कम्तीमा एक हजार रुपैयाँ कोषमा रहोस् र त्यसले हाम्रो समस्या समाधान होस् भने चाहना रहेको बताउनुभयो ।

कोषको व्याजबाट बागलुङ जिल्ला भित्र आईपर्ने विभिन्न दैवी प्रकोप लगायतका समस्याहरुमा सहयोग गर्ने समाजका संरक्षक शर्माले बताउनुभयो । ‘बाढी पहिरो, आगलागी लगायतका प्राकृतिक प्रकोपमा सहयोग गर्नुपर्ने हुँदा पनि हामी कोषकोट व्याजबाट सहयोग गर्नेछौं,’ उहाँले भन्नुभयो,‘जटिल स्वास्थ्य समस्या भएकाहरुलाई पनि सहयोग गर्नका लागि पनि खर्च गर्छौं ।’

गरिब तथा जेहेन्दार विद्यार्थीको पठन पाठन लगायतका विषयमा पनि सहयोग गर्ने संरक्षक शर्माले बताउनुभयो । विभिन्न समयमा सहयोगको आवश्यकता पर्दा हरेक पटक चन्दा उठाउनुपर्ने भएकाले पनि कोषको आवश्यकता महशुस गरिएको उहाँको भनाई छ ।