कमर्शियलको मुनाफा २३ लाख ४५ हजार !

बागलुङ, २१ पौष । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले २३ लाख रुपैयाँ बढी मुनाफा गरेको छ ।

शनिबार सहकारीको १८ औं बार्षिक साधारणसभामा कोषाध्यक्ष लेखनाथ पौडेलले गतआर्थिक वर्ष २०८०/०८१ मा २३ लाख ४५ हजार ९ सय ७ रुपैयाँ मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सहकारीले ५ करोड ६ लाख ३७ हजार ६ सय ९९ रुपैयाँ आम्दानी र ४ करोड ८२ लाख ९१ हजार ७ सय ९१ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष पौडेलले बताउनुभयो ।

सहकारीले गतआर्थिक वर्षसम्म ९३ करोड ५७ लाख २१ हजार ९ सय ७४ रुपैयाँको कारोबार गरेको छ । ८ सय ६१ जना शेयर सदस्य रहेको कमर्शियलको शेयर पूँजी ४ करोड ६५ लाख ७ सय रहेको छभने १७ करोड ३२ लाख ६० हजार ४ सय ४९ रुपैयाँ बचत र १७ करोड ७९ लाख ८६ हजार ९ सय २४ रुपैयाँ लगानी गरेको कोषाध्यक्ष पौडेलले बताउनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले सहकारीले उद्देश्य अनुरुप कारोबार गर्नुपर्ने बताउनुभयो । उहाँले कमर्शियलले उद्देश्य अनुरुप पसल संचालन गरेर शेयर सदस्यहरुको आर्गनिक उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याएकोमा धन्यवाद दिनुभएको थियो ।

साधारणसभामा जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला जिसी, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख अमृत श्रेष्ठ, सहकारीका सल्लाहकार प्रेम प्रसाद सापकोटा र शेयर सदस्य उमेश गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले सहकारीका सचिव टेक बहादुर रोका (आरसि)ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लेखनाथ पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा मानार्थ डाक्टर कुमार खड्का, ज्येष्ठ शेयर सदस्य, जोडी शेयर सदस्य, उत्कृष्ट बचतकर्ताहरु, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी र कर्मचारीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष चक्र बहादुर खड्काको शुभकामना मन्तव्य र सचिव टेक बहादुर रोका (आरसि)को संचालनमा सम्पन्न भएको थियो ।