काठेखोलामा चार महिनामा २९ लाख राजश्व संकलन

सुजन रेग्मी
बागलुङ, १६ मंसिर । काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा २९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिक मसान्तसम्म २९ लाख ६६ हजार १ सय ४६ रुपैयाँ राजश्व संकलन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बताउनुभयो । उहाँले चालु आवको चार महिनामा गाउँपालिकामा ५१ वटा नयाँ व्यवसाय दर्ता भएका छन्भने १ सय ८७ वटा व्यवसाय नवीकरण भएको उपाध्यक्ष थापाले बताउनुभयो ।

पालिकाले राजस्व वृद्धि गर्नका लागि राजश्व सुधार रणनैतिक योजना तयार गरि कार्यान्वयन गरिनुका साथै कर तथा गैर करका दर तथा दायराहरु समानुकूल परिमार्जन गरिएको उपाध्यक्ष थापाले बताउनुभयो । व्यवसाय दर्ता तथा नविकरणको लागि वडा–वडामा पुगेर व्यवसायहरुको अनुगमन तथा सचेतना कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ ।

काठेखोलाले भुमीकर र सम्पत्तीकर उठाउन टोल–टोलमा घुम्ती शिविर सञ्चालन, साना अटो रिक्सा व्यवसायी दर्ता गरी संचालनमा ल्याएको छ । यस्तै कवाड्डी संकलनको लागि टेण्डर मार्फत जिम्मा दिइएको उपाध्यक्ष थापाले बताउनुभयो ।

काठेखोलाले सम्पूर्ण कर वडा कार्यालय र सफ्ट्वेर मार्फत बुझाउने व्यवस्था गरिएको छ । सफ्ट्वेर संचालनका लागि कर्मचारीलाई तालिमको व्यवस्थापन गरिएको गाउँपालिकाका उपाध्यक्ष थापाले बताउनुभयो । कर वृद्धि भन्दा पनि करको शिर्षक वृद्धि गर्ने नीति अवलम्बन गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले चालु आवको कार्तिक मसान्तसम्म वडा नम्बर १ को दोबिल्ला, खहरे लगायतका बजार क्षेत्रहरु, वडा नम्बर २ को अछेते बजार, वडा नम्बर ६ को सुल्डाडा तथा जलजला क्षेत्र, वडा नम्बर ७ रेशको जिरेदी, नुनथला, गोठडाँडा, देउरालीडाँडाका व्यवसायहरु र वडा नम्वर ८ लेखानी कादेश, भुमेचौर, बाङबाज, छेडा, पसलटोल, सेतीचौरका व्यवसायहरु अनुगमन गरिएको छ । गाउँपालिका भित्र संचालन भइरहेका व्यवसायहरुलाई दर्ता तथा नविकरण गर्नका साथै नागरिकलाई स्वच्छ खाद्यान्न उपलब्ध गराउनको लागि मिति गुज्रे नगुज्रेको र मुल्य सुचि राखे नराखेको, सरसफाई लगायतको अनुगमन कार्यलाई निरन्तरता दिने उपाध्यक्ष थापाले बताउनुभयो ।