बागलुङ, १२ फागुन । नेपालमा पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेपछि विमानस्थल भरिएका र विश्वविद्यालयहरू खाली रहेकोमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन आयोजित राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरूले शिक्षा प्रणालीको कारण युवाहरू बिदेसिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
सम्मेलनमा बोल्दै शिक्षाविद् डा. राजेन्द्र केसीले शिक्षामा कमीकमजोरी हुँदा युवाहरू बिदेसिएको बताए । उनले शिक्षालाई समाज, राजनीति, देशको भूमि, हिमाल, पहाड र तरार्ईसँग जोड्न नसकेको बताए । ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्। समाज, राजनीति, देशको भूमि, हिमाल, पहाड र तरार्ईसँग हाम्रो शिक्षाले जोडेनौं,’ उनले भने, ‘शिक्षा सर्टिफिकेटमा मात्र जोडेर मात्र हुँदैन त्यसलाई हिमाल, पहाड र तरार्ईसँग जोड्न आवश्यक छ ।’
उनले नेपालीहरूले १ सय ७१ वटा देशमा काम गरिरहेको तर आफैं देश बनाउन काम नगरेको बताए । ‘अहिले दैनिक युवाहरू बिदेसिएका छन्। १८ वटा विश्वविद्यालय खाली छन्,’ उनले भने, ‘नेपालीहरूले १ सय ७१ वटा देशमा काम गरिरहेका छन् तर आफैं देश बनाउन काम गरेनौं ।’
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले शिक्षालाई सीपसँग जोड्न नसकेकोले युवाहरू बिदेसिएको बताए । ‘हामीले विद्या दिएनौं । शिक्षा दिन थाल्यौं। विद्या दिएको भए नरम, नम्र, चरित्रवान् हुने थिए,’ उनले भने, ‘शिक्षालाई सीपसँग जोड्नुपर्यो। विद्या र शिक्षालाई सँगसँगै लैजाने शिक्षा हुनुपर्छ ।’ उनले राजनीति भनेको राम्रो नीति बनाउने भए पनि झगडा गराउने नीतिजस्तो बनाइएको बताए ।
‘राजनीति भनेको राम्रो नीति हो, उच्चतम नीति हो। यहाँ राजनीति भनेको झगडा गराउने नीति भएको छ,’ प्रा.डा. अर्यालले भने । अहिले विश्वविद्यालयहरू राजनीतिक पार्टीको तालिम केन्द्र भएको भन्दै प्रा.डा. अर्यालले चिन्ता व्यक्त ग रे। ‘अहिले विश्वविद्यालयहरू राजनीतिक पार्टीको तालिम केन्द्र हो । त्यहाँँ जसले कुर्ची भाँच्छ, जसले बढी घर भत्काउँछ, जसले बढी गुरुहरूलाई अपशब्द बोल्छ त्यसले पछि टिकट पाउँछ र नीति बनाउने स्थानमा पुग्छ । यो अन्त्य हुनु जरुरी छ,’ प्रा.डा. अर्यालले भने, ‘विकासका लागि राजनीति हुनुपर्छ तर तोडफोडको राजनीति हुनु हुँदैन ।’
धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद शर्माले मातृभाषा र स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा विद्यार्थीलाई नेपालमा रोक्न नसकिएको बताए । ‘सनातनी शिक्षालाई निरन्तर दिनका लागि समय र सन्दर्भअनुसार पाठ्यक्रमअनुसार परिवर्तन गरेर जनशक्तिलाई यही प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमा पनि हामी चुकेका छौं,’ उनले भने, ‘हाम्रो शिक्षालाई जति सस्तो बनाइएको छ त्यसो गर्नु आवश्यक छैन ।’
प्रा.डा. विद्यानाथ कोइरालाले सोच एउटा बोक्ने काम अर्को गर्ने गरेको कारण शिक्षामा समस्या आएको बताए । उनले विश्वविद्यालयका प्रमुखहरूमा अन्तरदलीय चिन्तन बनाउन नसक्दा समस्या भइरहेको बताए । ‘अन्तरदलीय सरकार हुन्छ,’ उनले भने, ‘अन्तरदलीय चिन्तन बनाउने नेतृत्व हुँदैन समस्या त्यही हो ।’
प्रा.डा. कोइरालाले अहिलेको बालबालिकाको तागत प्रविधि भएकोले त्यसमा ध्यान दिनुपर्ने बताए । ‘अहिलेको बालबालिकाको तागत भनेको प्रविधि हो । प्रविधिसँग अभ्यस्त भएकोलाई केटाकेटीहरूलाई अलिकति किताबसँग, अलिकति किताब र अलिकति जिन्दगीसँग, अलिकति आफ्नै अनुभूतिसँग जोडिदियो भने गतिलो अनुसन्धानकर्ता बन्छन् । अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय जगत्मा मज्जाले काम गर्छ,’ उनले भने, ‘अहिले ज्ञान बोकेर हिँड्ने दिन गए । अहिले ज्ञान कम्प्युटरमा हुन्छ त्यसलाई प्रयोग गर्न सके पुग्छ। शिक्षकहरू र शिक्षामा लाग्नेहरूले त्यसलाई प्रयोग गर्न सिकाइ दिनु आवश्यक छ ।’ संस्कारसहितको शिक्षा अभियन्ता अञ्जु भट्टराईले अहिले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताइन् । उनले नयाँ भिजन र मिसनसहित संस्कारसहितको प्रविधिसँग जोड्ने शिक्षा दिनु अहिलेको आवश्यकता रहेको बताइन् ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले अहिलेको शिक्षा नीति नै परिवर्तन गरिनुपर्ने बताए। उनले प्रत्येक दिन ३–४ हजार युवाहरू बिदेसिएको बताउँदै स्नातक अध्ययन र पास नगरेसम्म युवाहरूलाई विदेश जान रोक लगाइनुपर्ने बताए । ‘प्रत्येक दिन ३-४ हजार युवा दैनिक बिदेसिएका छन्,’ मन्त्री थापाले भने, ‘स्नातक अध्ययन र पास नगरेसम्म विदेश जान रोक लगाइनुपर्छ । त्यसो गरेमा हाम्रा विश्वविद्यालय रित्तिने क्रम राकिनेछ ।’
मन्त्री थापाले सीपयुक्त र जीवन उपयोगी शिक्षा दिने बारेमा सबै गम्भीर हुनु आवश्यक रहेको बताए । उनले एकजना स्वामीले चाहेमा विकास गर्न सकिन्छ भन्ने उदाहरण पञ्चकोट रहेको बताउँदै सबै स्वार्थी भएकोले त्यसको हालत अहिलेको अवस्थामा आएको बताए । ‘एकजना स्वामीले गरेको फल र योगदान हेरेर ग्रहण गरौं । स्वामीजस्तै निष्ठा भएर काम गरौं। देशलाई परिवर्तन गरौं,’ मन्त्री थापाले भने, ‘हामी स्वार्थी भयौं। हामीले पछि फर्केर हेरेनौं । पछाडिका जनताको अवस्था के छ ? दिनदुःखीहरूको अवस्था के छ ? के गरेमा देशलाई कस्तो नीति बनाउँदा रोजगार दिन र हरियाली बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ ।’
प्रकृतिले हामीलाई साथ दिँदा पनि त्यसको उपयोग गर्दै देशलाई अझै सुन्दर बनाउन नसकेको मन्त्री थापाको भनाइ छ । ‘प्रकृतिले दिएको सुन्दर देशलाई अझै कसरी विकास गर्न सकिन्छ ? शालिग्राम कसरी बचाउने, पर्यटक ल्याएर यसलाई कसरी विकास गर्ने भन्नेमा हाम्रो चिन्तन भएको छैन,’ उनले भने, ‘जुन देश बनेको छ त्यही देशमा गएपछि आफ्नो भविष्य हुन्छ भन्ने मात्र हामीमा सोच भयो । तर, आफू जन्मेको देशलाई विकास गर्नुपर्छ भन्नेतिर कोही लागेनौं ।’
मन्त्री थापाले सरकारले गर्नुपर्ने काम एकजना स्वामीले गरेको भन्दै पञ्चकोटमा जारी महायज्ञमा सबै भक्तजनहरूलाई उपस्थित भएर ग्रहण गर्न आह्वान गरेका छन् । देशका शिक्षाविद्, प्राध्यापक डाक्टर, स्थानीय शिक्षकहरू र विद्यार्थीहरूबीच भएको राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलनको बारेमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका थिए ।
मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भइरहेको छ । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक विविध कार्यक्रम र सम्मेलन हुँदै आएको छ । महायज्ञको चौथो दिन शनिबार फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन हुनेछ ।