
बागलुङ, २२ असाेज । दोस्रो हरेलो मेलामा ४ लाख रुपैयाँ बढी नाफा भएको छ। बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले गत भदौ ५ गते आयोजना गरेको दोस्रो हरेलो मेलामा ४ लाख ४७ हजार ५१० रुपैयाँ नाफा भएको अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए। सोमबार पत्रकार सम्मेलन गरी मेलाको हिसाव सार्वजनिक गरिएको हो।
कोषाध्यक्ष खत्रीले संघसंस्था र व्यक्तिगत सहयोग ५ लाख ३३ हजार १० रुपैयाँ, कुश्मा नगरपालिकाबाट २० हजार, जैमिनी नगरपालिकाबाट २० हजार, ग्लोबल आइएमई बैंकबाट १ लाख र बागलुङ नगरपालिकाबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बताए। उनले कुश्मा नगरपालिका पर्वत र जैमिनी नगरपालिका बागलुङबाट सहयोग रकम भुक्तानी हुन बाँकी रहेको बताए।
कोषाध्यक्ष खत्रीले मेलामा गाडी, ट्याक्टर, जीप भाडा ४९ हजार ५ सय रुपैयाँ, खाजा/खाना १ लाख १० हजार रुपैयाँ, कलाकार खर्च ८२ हजार रुपैयाँ, पुरस्कार ४० हजार रुपैयाँ, प्रथम हरेलो मेलाको बाँकी भुक्तानी १ लाख ३० हजार रुपैयाँ खर्च भएको बताए।
समितिका अध्यक्ष ढकालले गत वर्ष भन्दा यस वर्ष मेला प्रभावकारी भएको बताए। उनले बलेवाको संस्कृतिका रूपमा विकास गरिएको र मेलाले भैरवस्थान मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुर्याएको जानकारी दिए।
मेलाको आम्दानीले मन्दिरमा पूर्वाधार निर्माण गर्ने अध्यक्ष ढकालले बताए। ‘हामीले मेलाबाट आम्दानी भएको रकमले मन्दिरमा पूर्वाधार निर्माण गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष ढकालले भने,‘यस वर्ष समितिको कार्यालय निर्माण गर्छौं। मन्दिरमा फुल, प्रसाद बिक्री गर्नका लागि स्टल निर्माणका लागि बागलुङ नगरपालिकासँग बजेट माग गरेका छौं।’
मेलाले भैरवस्थान मन्दिर र बलेवा क्षेत्रमा नाचिने तरबार नाच, भजन र पञ्चेबाजालाई प्रोत्साहन गर्न सहयोग पुर्याएको सचिव भीमनाथ पौडेलको भनाइ छ। उनले बलेवा क्षेत्रमा हरेलो पर्वलाई विशेष चाडका रूपमा मनाउँदै आए पनि त्यसको पछिल्लो पीडितले बेवास्ता गर्दा हराउँदै जान थालेपछि जर्गना गर्नका लागि मेलाको आयोजना गरेर प्रचारप्रसार गरिएको बताए।
वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार बागलुङको बलेवा क्षेत्रसहित अधिकांश स्थानमा ‘हरेलो पर्व’ मनाउने प्रचलन छ। घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो। यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ।
परम्परागत रूपमा मनाइने हरेलो पर्व विस्तारै लोप हुन लागेको अवस्थामा परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न र भैरवस्थानको प्रचार गर्नका लागि मेला आयोजना गरेर आयोजकले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।
उनले पर्यटकीय स्थलहरूमा पर्यटक भित्र्याउन र परम्परागत रूपमा मनाइने मेलाहरूलाई जर्गना गर्न स्थानीय सरकार सधैं तत्पर रहेको बताए। बाइसे चौबिसे राज्यको समयमा १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यभित्र पर्दछ।