बागलुङ नगरपालिकाले ल्यायो एक अर्ब ३३ करोड बजेट

बागलुङ, ११ असार । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि एक अर्ब ३३ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । आईतबार नगरपालिकाको १३ औं नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले एक अर्ब ३३ करोड २१ लाख २९ हजार तीन सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

उपप्रमुख खड्काले संघीय सरकारबाट प्राप्त हुने एक अर्ब दुई करोड ६० लाख ९४ हजार ५० रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने ६ करोड १८ लाख ८१ हजार, आन्तरिक राजश्व संकलन ९ करोड २४ लाख २२ हजार र अन्य विविध आय १४ करोड १७ लाख ३८ हजार दुई सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले आगामी आवको लागि सवैभन्दा बढी शिक्षा युवा तथा खेलकुद शाखामा र सवैभन्दा कम आयुर्वेद शाखालाई बजेट विनियोजित गरेको छ । उपप्रमुख खड्काले शिक्षा युवा तथा खेलकुद शाखालाई २ करोड ४९ लाख ७ हजार, पशु विकास शाखालार्य ११ लाख ५० हजार, स्वास्थ्य शाखालाई १ करोड ५३ लाख ५० हजार, आयुर्वेदलाई ३ लाख, न्यायिक समितिलाई ७ लाख, सामाजिक विकास शाखालाई ७४ लाख ५० हजार, राजश्व शाखालाई १३ लाख, सरसफाई तथा फोहोर व्यवस्थापन शाखालाई ५९ लाख, सहकारी शाखालाई ४ लाख ५० हजार र कृषि शाखालाई १८ लाख रुपैयाँ बजेट विनियोजित गरेका छन् ।

उपप्रमुख खड्काले मितव्यीताको सिद्धान्त अवलम्वन गर्ने नीतिको लागि आगामी आर्थिकवर्षका लागि तालिम, भ्रमण तथा बैठक भक्ता कटौती गरेको र अतिआवश्यक बैठक,तालिम तथा कार्यक्रम बाहेकका अन्य गतिविधिहरु भर्चुअल मेटिङको व्यवस्था मिलाएको बताएका छन् । उनले कृषि पकेट क्षेत्र निर्धारण गर्ने, स्थानीय विऊ उत्पादनलाई प्रोत्साह दिने तथा बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर, कागती, अदुवा बेसार खेतीलाई प्रबद्र्धन गर्ने, एक वडा एक पकेट एक नमुना फर्म संचालन गर्ने, गाँजा तथा भाँगो खेतिको सम्भाव्यताको अध्ययन गरिने बताए ।

नगरपालिकाले कृषि तथा पशु क्षेत्रका लागि १ करोड ७ लाख ५० हजार, नगरका विपन्न, असहायक तथा हिंसा पीडित महिलाहरुका लागि आवश्यक सहयोग गर्न तथा असहायक, विद्यालय जानबाट बञ्चित, सडक बालबालिकाहरुको अध्ययन र संरक्षण गर्नेगरी खुसी महिला तथा बाल बचाउ कोष कार्यक्रम संचालन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छभने भवन निर्माणका लागि पहल गर्ने जनाएको छ । यस्तै धार्मिक तथा पर्यटकीय स्थल र परम्परागत मेलापर्वहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटन पूर्वाधार विकासको लागि उपप्रमुख पर्यटन विकास कार्यक्रमलाई ४० लाख रुपैयाँ, एक वडा एक नमुना पूर्वाधार योजनाका लागि ४० लाख रुपैयाँ, फोहोर मैला व्यवस्थापनका लागि १ गाडी सहित ८४ लाख रुपैयाँ र जिरो वेष्ट कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ विनियोजित गरिएको उपप्रमुख खड्काले बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागु गर्न लागेको नगरको छोरी कार्यक्रमको लागि बैंक तथा वित्तीय संस्थाको खोजी गर्ने र आवश्यक कार्यविधिगत व्यवस्थागर्ने गरी १५ लाख रुपैयाँ विनियोजित गरेको छ । नगरपालिकाले नगरपालिका भित्र जन्मने छोरीहरुको लागि नगर छोरी कार्यक्रम संचालन गरेर मुद्धती खाता खोली ५ हजार रुपैयाँ जम्मा गरिदिने र २० वर्षसम्म निकाल्न नमिल्ने र त्यसमा परिवारले पनि जम्मा गर्न मिल्ने गराईने नीति लिएको छ । नगरपालिकाले साउन १ गतेदेखि सव–वाहन सेवा, दमकल सेवा, व्याक हो लोडर सेवा र निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न हटलाइनको व्यवस्था गरिने जनाएको छ ।

नगरपालिकाले छाडा कुकुरको उचित व्यवस्थापन गर्न कुकुर होस्टेलको स्थापनाका लागि १५ लाख रुपैयाँ, नगरस्तरीय पूर्वाधार निर्माणका लाग २ करोड ५० लाख रुपैयाँ, एक वडा एक नमुना पूर्वाधारको अध्ययन प्रतिवेदन तयारको लागि ४० लाख रुपैयाँ, पूर्वाधार एम्बुलेन्सको लागि ४० लाख रुपैयाँ, स्थानीय मदिरा पूर्वद्धन कार्यक्रमको लागि १ लाख रुपैयाँ, वाटर बैंक स्थापनाको लागि १२ लाख रुपैयाँ, बसपार्क जग्गा फिर्ता कार्यक्रमको लागि १५ लाख रुपैयाँ, कृषि बजार व्यवस्थापनको लागि १० लाख रुपैयाँ बजेट विनियोजित गरेको उपप्रमुख खड्काले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here