संगम घर्तीमगर
बागलुङ, ११ असार । सहकारीका सबै सदस्यहरु तरकारी, दुध तथा खाद्यान्न उत्पादनसँग जोडिएका छन् । उत्पादनमा नरहेका सदस्यहरु बजारीकरणमा खट्छन् । बचत र ऋणको कारोवार हुन्छ तर त्यो पनि कृषि उत्पादनकै लागि हुन्छ । सहकारीले ऋण प्रवाह गरेर उत्पादन बढाउन लगाउँछ, किसानले उत्पादन गरेको कृषि उपजको बिक्रिबाट सहकारीको ऋण मिलाउँछन् । उत्पादनसँग जोडिएकाले सहकारीमा आउने संकटहरुको हावाले कम छुने सहकारीको मिरमिरे कृषि सहकारी संस्था । जसलाई नगद तरलताको अभावले होईन कृषि उपजको तरलता कम हुँदा चिन्ता हुन्छ । लाग्छ बजारको माग कसरी थेग्नु ?
कृषि उत्पादनमा शेयर सदस्यहरुको सकृयताबाट सफल बनेको यो सहकारी कृषि उपजको ब्राण्डिङ गर्ने तयारी थालेको छ । बागलुङ नगरपालिका–३ गौंडाकोटमा कार्यालय रहेको सहकारीले कृषि क्षेत्रमा काम गर्ने किसानहरुको हितमा काम गर्दै आएको छ । अब उक्त सहकारीले किसानबाट कृषि उपजहरु संकलन गरेर त्यसलाई ‘ब्राण्डिङ’ गर्ने तयारी थालेको हो । गत आर्थिक वर्षदेखि नै बहुउद्देश्यीय उद्योग सञ्चालनमा ल्याएर खाद्यान्न प्रशोधन थालिएको र चाँडै नै ब्राण्डिङ गरेर अगाडि बढ्ने तयारीमा रहेको मिरमिरे कृषि सहकारी संस्था लि.बागलुङका सचिव थानेश्वर सुवेदीले बताउनुभयो ।
‘हामीले उद्योग सञ्चालनमा ल्याएर किसानहरुबाट ल्याईएका कृषि उपजहरुको प्रशोसन गर्ने, कुटानी पिसानी गरेर दिने गरेका छौं,’ उहाँले भन्नुभयो,‘किसानको हित र फाईदालाई ध्यानमा राखेर अब कृषि उपजको ब्राण्डिङ नै गरेर अगाडि बढ्ने तयारीमा छौं ।’ त्यसका लागि अहिले गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिने प्रक्रिया अगाडि बढाईएको उहाँले बताउनुभयो । ‘प्रक्रिया अगाडि बढिसकेको छ, चाँडै नै अनुमति पाएपछि हामीले ब्राण्डिङ गरेर अगाडि बढ्ने तयारीमा छौं,’ उहाँले भन्नुभयो । अहिले उद्योगबाट धान, गहुँ, मकै, कोदो पिस्ने, चामल, आटो, पिठो तयारी गरी उपभोक्तालाई उपलब्ध गराउने काम भैरहेको उहाँ बताउनुहुन्छ ।
‘हामीले यहाँका आम नागरिकलाई नै यो सेवा उपलब्ध गराएका छौं,’ उहाँ भन्नुहुन्छ,‘आम नागरिकलाई भन्दा हाम्रो सहकारीका सेयर सदस्यहरुलाई चाँही ५ देखि १० प्रतिशतसम्म छुटमा उपलब्ध गराउने गरेका छौं ।’ किसानले लिएर आएका कृषि उत्पादनहरु प्रशोसन गरेर उपलब्ध गराउने र सहकारीले नै किनेर ल्याएको कृषि उपजहरु पनि प्रशोसन गरेर आम उपभोक्तासम्म पु¥याउने काम गरिरहेको उहाँको भनाई छ ।
तराई र यहाँका स्थानीय उत्पादनका धानहरु खरिद गरी प्रशोधन गरेर बजारमा पठाउने काम गरिरहेको संस्थाका अध्यक्ष नारायण शर्मा बताउनुहुन्छ । ‘तराई क्षेत्रबाट साँवा धान ल्याएर चामल बनाएर विक्री वितरण गरेका छौं,’ उहाँले भन्नुभयो,‘बागलुङकै जैमिनीको जैदी छिस्तीबाट जेठोबुढो धान ल्याएर विक्री गर्न सुरु गरेका छौं ।’
विगतमा अन्य व्यापारी सस्तो मूल्यमा धान विक्री गर्न बाध्य किसानलाई सहकारीले प्रतिपाथी दुई सय ४० रुपैयाँ दिएर जेठोबुढो धान खरिद गरेको उहाँले जानकारी दिनुभयो । ‘सामान्यतया बजार मूल्यभन्दा हामीले सस्तोमै खाद्यवस्तु उपलब्ध गराएका छौं, त्यसले गर्दा पनि हामीकहाँ माग धेरै नै छ,’ उहाँले भन्नुभयो । उद्योगबाट तोरीको तेल पेलेर उपलब्ध गराउने, तथा मकै भुटेर तथा कुराउनी बनाएर उपलब्ध गराउने गरिएको उहाँ बताउनुहुन्छ । ‘दशैं तिहारको समयमा बजारमा दूध विक्री नहुँदा किसानको दूध खेरा जाने अवस्थामा हामीले लिएर कुराउनी बनाएर उपलब्ध गराउँछौं,’ शर्माले भन्नुभयो । चार सय ६० सेयर सदस्य रहेको उक्त सहकारीको सेयर पुँजी करिब एक करोड रुपैयाँ रहेको छ ।
सहकारीले १० वर्षका लागि जग्गा सम्झौता गरेर उद्योग स्थापना गरेको हो । सरकारी निकायको करिब ४० प्रशित र सहकारीको ६० प्रतिशत लगानी गरी झण्डै ४० लाखको हाराहारीमा उद्योग स्थापना गरिएको हो । अहिले ब्राण्डको अनुमति प्राप्त नभएकाले किसानले लिएर आएका कृषि उपज प्रशोसन गरेर दिने र केही उपजहरु किनेर ल्याएर किन्न आउने उपभोक्तालाई उपलब्ध गराउने गरिए पनि आगामी दिनमा प्याकेजिङ गरेर बजारमा पसल नै स्थापना गरेर विक्री वितरण गर्ने योजनामा सहकारी रहेको छ । विगतमा बहुउद्देश्यीय रहेको सहकारीलाई विगत केही वर्षयता कृषि सहकारीमा रुपान्तरण गरेर काम अगाडि बढाईएको सहकारीका संस्थाका निवर्तमान अध्यक्ष गंगा थापा बताउनुहुन्छ ।
‘२०६४ सालमा बहुउद्देश्यीय सहकारीको रुपमा स्थापना गरिएको थियो, त्यो बेलामा बचत तथा ऋणको कारोबार पनि गरेका थियौं,’ उहाँले भन्नुभयो,‘पछिल्लो तीन कार्यकाल यता कृषि सहकारीमा रुपान्तरण गरेर उत्पादनको क्षेत्रमा लगानी गरेका छौं । मैले दुई कार्यकाल अध्यक्ष भएपछि नेतृत्व हस्तान्तरण गरेको छु ।’ अहिले सकारीले ७० प्रतिशत बचत तथा ऋणको कारोबारलाई घटाएर उद्योगमा लगानी गरेको छ । कृषक र सेयर सदस्य भन्दा बाहिर गएर लगानी नगरेका कारण सहकारीमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । सहकारीले विशेषगरी कृषकलाई सीप सिकाउने, अनुदान लगायतका विषयमा विशेष सहजीकरण गर्दै आएको छ ।
ब्राण्डको अनुमति पाएपछि बागलुङको विशेष दिलाउनेगरी कुराउनी, स्थानीय धान जेठो बुढो, गुडुरा, एक्ले धानको चामल तथा शुद्ध तोरीको तेललाई बागलुङको पहिचानकै रुपमा ‘ब्राण्डिङ’ गर्ने योजना सहकारीले बनाएको छ । बागलुङ कालिका भगवती मन्दिर पसिरमा रहेका स्थानीय व्यवसायीसँग समन्वय गरेर तथा पञ्चकोटमा स्थानीय व्यवसायीसंग नभएर आफै काउन्टर सञ्चालन गरेर पनि बागलुङको पहिचान दिने उपज विक्री वितरण गर्ने सोंचमा सहकारी रहेको बताईएको छ ।
सहकारीका अध्यक्ष नारायण शर्माले सहकारीकै कार्यालय पसिरमा साप्ताहिक हाटबजार लगाउने र धेरै सामान खरिद गर्ने उपभोक्ताको घरमा होम डेलिभरीको व्यवस्था गर्ने तयारीमा रहेको बताउनुभयो । सहकारीमा आवद्ध सेयर सदस्यहरुको कृषि र पशुपालन सम्बन्धीमा समस्यामा सहकारीले सहजीकरण गरेको शेयर सदस्य भीमादेवी शर्माले बताउनुभयो । शेयर सदस्य उमादेवी पौडेलले टनेल तथा अनुदानका लागि सहकारीले सहजीकरणग गरिदिएका कारण आफुहरुलाई सजिलो भएको अनुभव साट्नुभयो ।