
काठमाडौं, ८ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरण आएपछि प्रमुख तीन दलका शीर्ष नेताबीचको भेटप्रति सन्देह व्यक्त गरिएकामा चर्को असन्तुष्टि जनाएका छन् ।
‘मानिलिऊँ तीन जना भेट्दा खेरी पनि दुई नेता दूधमा नुहाएका मात्र होइन दूधै कुण्डमा नुहाएका। अनि मचाहिँ गएर त्यहाँ ल न मेरो मान्छे बचाइदेऊ, यस्तो गर्देऊ भनेर म्याउँम्याउँ गर्न गएको, केपी ओलीले अरू थोक गर्ला। बाघ भोकै मर्छ घाँस खाँदैन भन्छन्। म्याउँम्याउँ गर्दैन’, पूर्वप्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा भने ।
ओलीले त्यही क्रममा देशको अवस्था औंल्याउँदै अनेक प्रश्न गरे । ‘देशको अवस्था यस्तो छ। सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने ? आदि कुराहरूमा नेताहरू छलफल गर्दैनन् ?’, उनले भने, ‘कानुनहरू निर्माण गर्नु छ। संशोधन गर्नु छ। त्यस सम्बन्धमा कसरी गर्ने ? छलफल गर्नुपर्दैन ? जटिल प्रकारका बनावटहरू हुन्छन् संसदीय अभ्यासका क्रममा। ती जटिल बनावटका प्रकारहरूमा स्मुथ्ली कसरी लाने ? त्यस विषयमा छलफल गर्दैनन् ?’
शरणार्थी प्रकरणमा आफू नेतृत्वको सरकारका पालामा कुनै गडबडी नभएको दाबी उनले गरे। ‘मेरो समयमा केही पनि गएको छैन। छानबिन गर्नुस् फेरि पनि। मेरो समयमा केही गएको छैन। एउटा समिति बनेछ। त्यो समितिले केही प्रस्ताव पठाएछ। मैले अध्ययन गर्न भनेर राखेँ। होल्ड गरेँ। र, त्यसलाई अध्ययनका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाएँ’, उनले भने, ‘मलाई त पिङ खेलाएको खेलायै हुनुहुन्थ्यो। मलाई त कागज हेर्ने समय पनि थिएन त्यस बेला। मुद्दै मुद्दा, मामिलै मामिला, नारै नारा, जुलुसै जुलुस। भित्तामा टाँसिदिन्छु भन्या छ। भुइँमा पुर्याइदिन्छु भन्या छ। धुलोमा मिलाइदिन्छु भन्या छ। साँच्चै मिलाइदिन्छन् कि क्या हो ! त्यस्तो स्थितिमा हामीले केही गरेनौं।’
उनले पछि अर्को सरकारको पालामा कागज फेरिएको बताए। ‘कागज फेरियो। माथिको कभरचाहिँ उही राखियो। तलको व्यक्तिहरूको सूचीचाहिँ परिवर्तन गरियो’, उनले भने, ‘परिवर्तन गर्ने को हो ? खोज्नुपर्दैन ? परिवर्तन गर्ने खोज्नु न। एमालेको नाम लिन रहर लाग्या छ। एमालेलाई गाली गर्न रहर लाग्या छ। केपी ओलीलाई गाली गर्न रहर लाग्या छ। रहर गर्नु मात्रै पनि होइन रहेछ जीवन। पार लाग्दैन।’
ओलीले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे। निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी उनले गरे। ‘कुनै पनि दोषी नउम्कियोस्’, उनले भने, ‘निर्दोषलाई फसाउने पनि अपराध हो। अपराध कर्म गर्ने धृष्टता नगरियोस्। त्यतापटि म ध्यानाकर्षण गराउन चाहन्छु।’
यो प्रकरण सरकारले नभएर आफैं बाहिर आएको उनले बताए। ‘यो त आफैं विस्फोट भएर आयो। आफैं। भुइँचालो गएजस्तो भएर आयो। भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ। आफैं आयो। यो भुइँचालो आयो। छेक्न सकिँदैनथ्यो। रोक्न सकिँदैनथ्यो’, उनले भने।
उनले आफूमाथि पनि छानबिन गर्न चुनौती दिए। ‘म गृहमन्त्री भएँ। परराष्ट्रमन्त्री भएँ। प्रधानमन्त्री भएँ। छानबिन होस्। छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु। हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौं। भ्रष्टाचारको छानबिन होस् भन्ने पक्षमा छौं’, उनले भने, ‘कोही पनि दोषी छुट्नुहुँदैन। तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु। दोषी उम्काउने, निर्दोष फसाउने यसप्रकारका प्रयास नगर्दा हुन्छ। किनभने, अझ भयावह रूपमा भोलि निस्किन्छ। आगो छोप्न सकिन्छ। धुवाँ छोप्न सकिँदैन। त्यो त फुत्त निस्किहाल्छ। ९ सय ७५ जना मान्छेसँग पैसा उठाइएको छ। चानचुने कुरा हो ?’