बागलुङ, ३० चैत । कालिगण्डकी र शालग्रामको सभ्यता बचाउनको लागि बागलुङमा श्री शालग्राम महोत्सव हुने भएको छ ।
कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीहरुले अति पुज्य मान्ने शालग्रामको संरक्षण गर्ने उदेश्यले निर्माण गरिएको संग्रहालय थप प्रचारप्रसार, वैदिक संस्कार संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्नको लागि बैशाख ११ गतेदेखि १५ गतेसम्म श्री श्रीधराचार्य शालग्राम संग्राहलयमा महोत्सवको आयोजना गरिएको मन्दीरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले बताए ।
अध्यक्ष प्रपन्नाचार्यले पछिल्लो समय कालिगण्डकीमा फोहोर फाल्ने, दोहोन गर्ने र तटबन्धनको नाममा गिट्टी बालुवाहरुको प्रयोग गरेर शालग्रामहरु नास भइरहेकोले त्यसलाई रोक्नुपर्ने र संरक्षण गर्नुपर्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको पाँच दिन कविता, रत्यौली, लोकदोहोरी, भजन, झाँकीबाट कालिगण्डकी र शालग्रामको महिमाको जानकारी दिने र दोहोन रोक्नुपर्ने सन्देश दिइने बताए ।
अध्यक्ष प्रपन्नचार्यले गण्डकी सकिएपछि शालग्रामहरु हराउँदै गएकोले तिनको संरक्षण गर्नुपर्ने सन्देश दिन पनि महोत्सवको आयोजना गर्नुपरेको बताए । ‘पछिल्लो समय कालीगण्डकीमा फोहोर फाल्ने, तटबन्धनको नाममा र ठेकदारहरुलाई सरकारले गिट्टी बालुवा निकाल्ने स्वीकृत दिएको कारण नदीमा प्रदुषण र दोहोन बढिरहेको कारण शालग्रामहरु हराउँदै गएका छन्,’ प्रपन्नचार्यले भने,‘शालग्राम हिन्दु धर्मावलम्बीहरुको लागि पुज्य बस्तु भएकोले त्यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिनुपर्ने छ । महोत्सव मार्फत कालीगण्डकीको महिमा र शालीग्रामको महत्वको बारेमा सन्देश दिन्छौं ।’
महोत्सवको पहिलो दिन कालीगण्डकी र शालग्रामको गौरवगाथा विषयक कविगोष्ठी, दोस्रो दिन कालीगण्डकी, शालग्राम कथाव्यथा विषयक रत्यौली हित आध्यात्मिक प्रवचन, तेस्रो दिन कालीगण्डकी, शालग्राम महिमा विषयक आध्यात्मिक भजन झाँकी नृत्य सहित आध्यात्मिक प्रवचन, चौथो दिन आध्यात्मिक दोहोरी सहित हाँस्यकलाकार दाह्री बाको प्रस्तुती र पाँचौ दिन समापन कार्यक्रम गरिने अध्यक्ष प्रपन्नाचार्यले बताए ।
महोत्सवबाट शालग्राम संग्राहलयमा पर्यटकहरु बढाउने उद्देश्य समेत लिइएको छ । अध्यक्ष प्रपन्नचार्यले एक सय मिटर लामो सुरुङको प्रदेशद्वार नजिकैदेखि कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमुना तयार गरि शालग्रामहरु संग्राहलय बनाइएको बताए । उनले शालग्राम र गण्डकीको सभ्यताको अबलोकन गर्नको लागि धार्मिक पर्यटकहरु भित्र्याउन समेत महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको बताए ।
संग्रहालयमा गण्डकीको सभ्यताको प्रतिरुप, धार्मिक पुस्तकालय, ध्यानस्थल र बृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । संग्रहालय भित्र चौध वर्ष लगाएर सङ्कलन गरिएका एक लाख २५ हजार शालग्राम सहित समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । यस्तै पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि संग्रह गरि राखिएको छ ।