बागलुङ, २९ माघ । महा शिवरात्रीको अवसरमा बागलुङ बजारमा नेपाली संस्कृतीमा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने भएको छ ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले फागुन २ गते महारात्री (नेपाली संस्कृती, विदेशी प्रस्तुती) कार्यक्रम गर्ने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संघले नेपाली हिन्दु धर्मावलम्बीहरुको संस्कृतीमा विभिन्न १० देशका २५ जना भन्दा बढी अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहने जनाएको छ ।
कला, संस्कृती तथा धार्मिक परम्पराको संरक्षणबाट राष्ट्रको विकास एम् अन्तराष्ट्रिय जगतसम्म ख्याती फैलाउन कार्यक्रम गर्न लागेको ईस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले बताए । ‘नेपाल कला, संस्कृतीको धनि देश हो । विदेशीहरु हाम्रो देशको कला संस्कृती देखेर मोहित छन्,’ प्रमुख दासले भने,‘यहाँको समुदायलाई आफ्नो संस्कृति प्रति गर्व हुनुपर्छ । संस्कृति बचाउँदै विदेशी पर्यटकहरुलाई नेपाल ल्याएर धार्मिक पर्यटनको माध्यमबाट देश विकास गर्न सकिन्छ ।’
दासले अन्तराष्ट्रिय कलाकारहरु नेपालका अन्य शहरहरुमा प्रस्तुती दिन आएको अवसरमा बागलुङमा पनि कार्यक्रम गर्न लागेको बताए । ‘कार्यक्रम सम्पन्न गर्न ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ प्रमुख दासले भने,‘अन्तराष्ट्रिय कलाकारहरु नेपालका अन्य शहरहरुमा पनि प्रस्तुती दिन आउनुभएको हो । त्यसैले उहाँहरुलाई चितवनबाट बागलुङ ल्याउने र धरान पु¥याउने यातायात खर्च र खाना खर्च मात्र व्यहोर्नुपर्छ अन्य खर्च लाग्दैन ।’
ईस्कोन बागलुङले कार्यक्रमको सम्पूर्ण खर्च टिकट विक्रीबाट र दानबाट संकलन गरिने बताएको छ । कार्यक्रममा रसिया, युक्रेन, अमेरिका, बेलायत, भारत, बंगलादेश, अफगानिस्तान, नेपाल लगायतका १० देशका २५ जना भन्दा बढी अन्तराष्ट्रिय कलाकारले महाभारत, रामायण, भागवत गितामा आधारित रहेर प्रस्तुती दिने ईस्कोन बागलुङका प्रमुख दासले बताए ।
कार्यक्रममा ५ सय बढी दर्शकहरुको सहभागी हुने अनुमान गरिएको छ ।