
बागलुङ, ७ मंसिर । बागलुङका चार वटा प्रदेशभा सदस्य पदमा पाँच दलिय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’ र क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र ‘ख’ मा काँग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा विजयी भएका छन् । थापाले १३ हजार ८८४ मत ल्याएरभने उनका प्रत्याशि नेकपा एमालेका हिरा बहादुर केसीले १२ हजार ४०५ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ४०७ र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले १०७ मत प्राप्त गरे ।
बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता मध्ये २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा ६३२ मत बदर भएको छ ।
यस्तै बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी बिजयी भएका छन् ।
सुवेदीले १३ हजार ३२० ल्याएर बिजयी हुँदा नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाए ।
यस्तै क्षेत्र नम्बर २ को प्रदेश तर्फ पाँच दलिय गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’मा नेपाली काँग्रेसका जित बहादुर शेरचन विजयी भएका छन् । उनले १५ हजार १०८ मत ल्याए ।
यस्तै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८०० प्राप्त गरे । उनलाई स्वतन्त्र उम्मेदवार घर्तीलाई नेकपा एमालेले समर्थन गरेको थियो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए ।
ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दोर्ण कुमार कुँवर विजयी भएका छन् । उनले १२ हजार ४०८ मत पाएर विजय हासिल गरे ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाएका छन् । यस्तै नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन् ।
बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा पर्ने प्रदेश (२)मा ४१ हजार २२७ मतदाता मध्य २३ हजार ३३८ मत खसेको थियो ।