
बागलुङ, २४ साउन । बागलुङ नगरपालिका–१, माझी बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय कालीगण्डकीको किनारबाट पानी बोकेर खान बाध्य भएका छन् ।
तीन वर्षअघि शुरू भएको योजनाबाट पानी आउन नसकेपछि त्यहाँका स्थानीय कालीगण्डकीको किनारबाट पानी खान बाध्य भएका हुन् । उक्त आयोजनाको पूर्वाधार निर्माण एक वर्षअघि नै सकिएको छ, जसअन्तर्गत १४ घरमा (बस्तीका सबै) खानेपानी धारा, ट्यांकी, पाइपलाइनलगायत निर्माण गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङले कालीगण्डकी किनारको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटर माथी तानेर उक्त बस्तीमा पानी पुर्याउने योजना थियो ।
खानेपानी योजनाको पूर्वाधार बनेको एक वर्ष बित्दासमेत पानी नआएको स्थानीयको दुखेसो छ । उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय नहुँदा खानेपानी सुविधा नपाएको स्थानीय बताउँछन् ।
बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसी पनि योजना पूरा नहुनुमा समन्वय अभावकै समस्या रहेको बताउँछन् । उनले योजना तत्काल सुचारु गर्न काम भइरहेको बताए । ‘माझी बस्तीमा खानेपानीको समस्याका विषयमा जानकारी पाएपछि खानेपानी तथा सरसफाइ कार्यालय र नगरपालिकासँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘विद्युत् जोडेर पम्प चलाए मात्रै पानी आउँछ । त्यसमा समन्वयको मात्रै अभाव भएको देखियो ।’
खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको बताए । उनले खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने बताए । उनका अनुसार १४ घरमा धारा, ट्यांकी, पाइपलाइनलगायत पूर्वाधार निर्माणका लागि ३० लाख रूपैयाँ खर्च भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी काम गर्ने बताए ।
‘हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हेर्याैं, पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुन पर्दथ्यो, अब हामी स्थलगत अनगुमनपछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौं,’ शर्माले भने, ‘हिउँदभित्रै माझी बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्याउँछौं ।’