बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१, बाङ्गेचौर घुम्तीको मदन–आश्रित पार्क चिरिच्याट्ट परिएको छ । पार्कभित्रको झाडी व्यवस्थापन तथा पार्कले चर्चेको जग्गामा पक्की पर्खाल निर्माण गरिएसँगै पार्क आकर्षक देखिएको छ ।
पार्कको पुरानो संरचनालाई पुनर्निर्माण गरी व्यवस्थित गरिएको छ । झन्डै पाँच रोपनी जग्गामा फैलिएको पार्क बागलुङ पोखरा सडक विस्तारको क्रममा साँघुरिएको थियो ।
वन मन्त्रालयले विनियोजन गरेको १५ लाख रुपियाँ रकमले पार्क पुनर्निर्माण गरेको प्रतिनिधि सभा सांसद मनकुमारी केसीले जानकारी दिनुभयो । बागलुङ–पर्वत जोड्ने लामो झोलुङ्गे पुल, शहीद पार्कको नजिकै पर्छ। विगत केही वर्षदेखि पार्क अस्तव्यस्त थियो ।
तत्कालीन बागलुङ नगरप्रमुख स्वर्गीय ऋषिराम शर्मा नेतृत्वको टोलीले २०५४ सालमा सडकमुनि बाङ्गेचौर घुम्ती नजिकको जग्गालाई मदन–आश्रित पार्कको नामकरण गरी संरक्षण गर्दै आएको छ। मन्त्रालयले विनियोजन गरेको रकमबाट पर्खाल, तारबार र बोर्ड व्यवस्थापनको काम भएको छ। आगमी वर्षमा पार्कभित्र थप संरचना निर्माण गर्ने सांसद केसीको भनाइ छ ।
पार्कमा पूर्वाधार निर्माणसहित रङरोगन गरेको डिभिजन वन कार्यालयका प्रमुख मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । अघिल्लो वर्ष बीपी पार्क र यो वर्ष मदन–आश्रित पार्कमा बजेट खर्च गरेको उहाँको भनाइ छ ।
पार्क व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर बोहोराले भन्नुभयो, अहिले चिटिक्क परेको छ। शहीदपार्क, मदन–आश्रित पार्क र एसियाकै लामो झोलुङ्गे पुल पर्यटकीय क्षेत्रका रूपमा विकास हुनेछ।
बागलुङ नगरपालिका–१, रामरेखा क्षेत्र शहीद तथा उच्च राजनीतिक नेतृत्वको स्मृतिमा तयार गरिएको पार्क क्षेत्रका रूपमा विकास भइरहेको छ । त्यहाँ शहीद पार्क, मदन–आश्रित पार्क, बीपी पार्क र डीबी पार्क निर्माण गरिएको छ ।