
प्रताप बानियाँ
म्याग्दी, ९ साउन । हिमालपारीको जिल्ला मुस्ताङको लेकाली खर्कमा याक र चौंरी गाईको खुन अर्थात रगत खाने मेला लागेको छ ।
थासाब गाउँपालिका–२, मार्चे र मुलीखर्क तथा घरपझोब–५, नमखुलेक खर्कमा याक र चौंरीको खुन पिउने मेला आयोजना गरिएको हो । हिमाली क्षेत्रमा पालिएका याक र चौरीको घाँटीबाट निकालेको (आलो रगत) अर्थात् खुन पिउनका लागि मेला भर्न सर्वसाधारणको भीड लागेको छ ।
गएको बुधबारदेखि लगाइएको मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, काठमाडौं र चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरु पुगेका छन् यहाँ आएका छन ।
व्यावसायिक रुपमा चौंरीपालन गरेका कृषकहरु आफैंले आयोजना गरेको मेलामा चौंरीको खुन खान सर्वसाधारणको भीड लागेको नमखुलेकका कृषक भूपिन शेरचनले बताउनुभयो । मेलामा सर्वसाधारणसँगै सरकारी कर्मचारीको पनि बाक्लो उपस्थिति रहेको छ ।
जिउँदो चौरीलाई समातेर तालिम प्राप्त खुन निकाल्ने मानिस जसलाई स्थानीय भाषामा आम्जी भनिन्छ, उनीहरुले चौंरीको घाँटीमा सुइरो (चापो)ले नसाबाट रगत निकाल्ने गर्दछन् ।
मुस्ताङमा पालिएका याक तथा चौंरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म खुन खाने
मेला सञ्चालन हुँदै आएको छ ।
नमखुलेकमा पाँचजना कृषकले पालेका झण्डै तीन सयको हाराहारीमा याक तथा चौंरीगाई छन् । अहिले दैनिक १ सयजना भन्दा धेरै सर्वसाधारणहरु खुन खाने मेलामा सहभागी भएको कृषक शेरचनले बताउनुभयो । चौंरीको आलो रगतलाई प्रति गिलास दुईसय रुपैयाँ मूल्य तोकिएको छ ।
यता मार्चे र मुली खर्कमा लगाइएको मेलामा १६ जना कृषकहरुले पालेका ८ सयवटा याक तथा चौंरी गाई ल्याइएको छ भने यहाँ पनि खुन खान सर्वसाधारणको भीड लागेको छ । उच्च हिमाली क्षेत्रमा पालिएका याक तथा चौंरीले बहुमूल्य जटिबुटीहरु खाने भएकाले चौंरीको आलो रगत मानव स्वास्थ्यका लागि फाइदाजनक हुने चौंरीपालक कृषकहरु बताउँछन् ।