एक कार्यकाल कार्यालय सहयोगी, अहिले वडाध्यक्ष

बागलुङ, २५ जेठ । बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो ।

पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित लिलबहादुर खत्रीले नियुक्त गर्नुभएको थियो । पाँच वर्ष कार्यालय सहयोगीको भूमीकामा जनताको सेवा गर्नुभएको किसान खत्रीले दोस्रो स्थानीय तह निर्वाचनमा आफैलाई नियुक्त गर्ने वडाध्यक्षलाई पराजित गर्दै वडाध्यक्ष बन्नुभएको हो ।

राजीनामा दिएको पन्ध्र दिनमा जनताबाट अनुमोदित भएर किसान वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । लिलबहादुर फेरि पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

किसानले ३०४ मत प्राप्त गर्दा लिलबहादुरले २७७ मत प्राप्त गर्नुभएको थियो । ‘कार्यालय सहयोगी भए पनि जनताको सेवामा थिएँ’ उहाँले भन्नुभयो, ‘अब पनि जनताकै सेवक भएर काम गर्छु ।’ स्थानीय विकास निर्माणको लागि सबैलाई समेटेर जाने किसानको भनाइ छ ।

अध्यक्षका प्रतिस्पर्धी लिलबहादुरले जनताको मतलाई सम्मान गर्दै आफ्नो क्षेत्रको समृद्धिको लागि पाँच वर्षीय अनुभव र सिकाइको प्रयोग गर्ने बताउनुभयो । फरक भूमीकामा भएपनि जनप्रतिनिधिलाई निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ ।

बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाँच वटा वडा रहेको बरेङमा २ वटा वडा राजमो, २ वटा कांग्रेस र एउटा वडामा नेकपा (एमाले) विजयी भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here