सुर्तीजन्य पदार्थ त्यागौं, वातावरण संरक्षण गरौं

टिका बहादुर कार्की
लागु औषध सेवनकर्ताको प्रवेशद्वार मानिएको चुरोट, सुर्ती, खैनी, पान, पराग लगायतका सुर्तीजन्य पदार्थको सेवनको असरबाट प्रत्येक ८ सेकेन्डमा १ जना मानिसको मृत्यु हुन्छ भन्दा पत्याउन कठीन होला । हजारौं हेक्टर जमिन सुर्ती खेतीका लागी उपयोगमा आएको र अन्य मानवीय सेवामुलक संस्था भन्दा व्यवस्थित भव्य भवनहरु सुर्य टोबाको कम्पनीमा छन् भन्दा अचम्म लाग्ला । नियमित सुर्तीजन्य पदार्थ सेवन गर्ने सामान्य ज्यालादारी श्रमिकदेखि धनाड्यसम्मले हाम्रो वातावरण कति प्रदुषण गरिरहेका छन् ? सेवनकर्ताको छेउमा रहंदा नाक छोपेर बस्नेहरुले मनमनै घृणा गरे पनि यसका बिरुद्ध बोल्न र सेवन तथा कारोवार रोक्न सकेको पाईदैन ।

चुस्त फुर्तीलो जिउमा सुर्तीजन्य पदार्थको गन्ध मात्रै पर्दा टाउँको दुख्ने र लठ्याउने गर्छ भने सेवन गर्नेलाई कति असर गर्छ होला ? हेर्दा सामान्य देखिने, तलतल लागी रहने फुर्सद हँुदा र व्यस्त हँुदा पनि सुर्तीको नसामा फुर्ती लाउनेहरु भने गल्दै गईरहेको हामी थाहा पाउदैनौं । किनकी यसले ‘स्लो पोईजन’को काम गरिरहेको हुन्छ, सस्तोमा किन्न पाईन्छ अनि रक्सी तथा लागुऔषध जस्तो कडा प्रतिबन्ध पनि छैन । शरिरलाई बिस्तारै नसा दिएर सामान्य रुपमा लठ्याउने यस्ता चिजको सेवन गर्ने व्यक्तिमा स्मरण शक्ति, सहनशिलता, लगनशिलता, सिर्जनशिलता र फुर्तिलोपनामा कमी आईरहेको हामी देख्न सकिन्छ । भौतिक प्रतिस्पर्धाका बिभिन्न खेलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु छिटै गल्छन्, त्यसैले त खेलाडीलाई निकोटिन जन्य चिया कफी पनि सेवन गर्न दिईदैन । तर, आम नेपालीहरुमध्ये कतिपय नियमित अम्मली छन् भने गाउँ–शहर जताततै चुरोट, खेनी, सुर्ती, पान, पराग सेवन गर्नेहरु धेरै भेट्न सकिन्छ ।

सुर्तीजन्य पदार्थको खुल्ला कारोवार गर्न प्रतिबन्ध भैरहंदा पनि हरेक किराना पसलमा लुकाई छिपाई राखेर बेच्ने गरेको पाईन्छ । ठुला होटल रेष्टुरेन्टमा स्मोकिङ एरिया नै छुट्याईएको हुन्छ । ढुङ्गा, माटो, खाद्यान्न र बनस्पतिजन्य प्रदुषणलाई सजिलै जमिनमा नष्ट गर्दा यसले मानव स्वास्थ्यमा कुनै असर गर्दैन । तर, रासायनिक र प्लाष्टिक जन्य प्रदुषणलाई बिसर्जन गर्दा त्यसको धुँवाले मानव स्वास्थमा तिब्र असर पार्छ भन्ने हामीले थाहा पाईराखेको कुरा हो । प्लाष्टिकजन्य फोहोरमा सुर्तीजन्य पदार्थको प्याकिङ्गमा प्रयोग हुने प्लाष्टिक र अन्य कागज मात्रा बढी नै पाईन्छ भने गाउँ घर, शहर बजारका सडक, गल्ली र डस्वीन हँुदै चराका गुंडमा पनि चुरोटका ठुटा र यस्तै चिज हुन्छन् । चुरोट र गाँजा सेवन संगै हिजोआज लुकिछिपी लागुऔषध सेवन गर्नेहरुले खाली स्वच्छ सुन्दर ठाउँलाई सुर्तीजन्य पदार्थ तथा लागुऔषध सेवन पछाडी सुईहरु यत्रतत्र सुईहरु फ्यांकेर वातावरणलाई प्रदुषण तथा जोखिमपुर्ण बनाईरहेका छन् ।

नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियमन तथा कारवाहीका लागी ऐन बनाएर कथंकदाचित काठमाण्डौ लगायत केही शहरका सार्वजनिक स्थलमा चुरोट र सुर्तीजन्य पदार्थ सेवन बिरुद्ध नेपाल प्रहरीले कार्वाही नगरेको पनि होईन । चुनाबमा भोटका लागी मतदाताको घरदैलो पुग्न सक्ने राजनैतिक नेतृत्व र कार्यकर्ताहरु जसरी सुर्तिजन्य पदार्थका बिरुद्ध पनि सचेतना र कार्वाही साथै स्वास्थ्यकर्मी सहितका संयुक्त टोलीबाट केही बर्ष सशक्त अभियान संचालनको आवश्यकता छ । साथै, सुर्तीजन्य पदार्थ उत्पादन, प्रशोधन, भण्डारण तथा कारोबारबाट सरकारले राजस्व पनि नलिने र यस्ता व्यबसायलाई बिस्थापन गर्न आवश्यक छ । आजैका दिनबाट सुर्तीजन्य पदार्थ त्यागौं, वातावरण संरक्षण गरौं । “Protect the Environment” भन्ने नाराका साथ मनाईदै गरेको सुर्तीजन्य पदार्थ बिरुद्धको अन्तराष्ट्रिय दिवस सफल पारौं ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here