पुस्तकको ब्यबस्थापन गरौं, पढ्ने बानी बसालौं

टिका बहादुर कार्की
(सन्दर्भ– बिश्व पुस्तक दिवस अप्रिल २३, २०२२)
“Read… so you never feel alone” भन्ने नाराका साथ बिश्व पुस्तक दिवस मनाउदै गर्दा उपलव्ध पुस्तकहरु पढेपनि नपढेपनि कसैले दराजमा सजाएर त कसैले बोरामा प्याक गरेर राख्दै र मिल्काउदै केही बर्ष पछि कवाडीलाई दिंदै गरेको स्थितीमा पुस्तक सम्बन्धमा केही बिबेचना गर्नु आवश्य देखियो । अनिवार्य रुपमा पढ्नु बाहेक ईन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटप र स्मार्ट फोनमा उपलव्ध हुने आकर्षक शैक्षिक सामाग्रीका कारण किताबका सादा पाना पल्टाउदै दिक्दारीका साथ कसले पढोस ति भारी किताबहरु ? बिद्यार्थीलाई सटिक उत्तर सहितका गाईड, गेसपेपर हेर्दै, टिकटक, भिडियोचाट, फेसबुक लगायतका सामाजिक संजालमा रमाउंदा समय बितेको पत्तै हुदैन भने पढेर कुनै उपलव्धी छैन भन्नेहरुका लागी किताब किन चाहियो ?

धुलौटामा सिन्काले कोरेर, निगालोबाट बनाएको कलम कालो मसीमा चोबेर नेपाली हाते कागजमा लेखेर, काम नदिने टर्च लाईटका व्याट्री फुटालेर निस्केको कार्वन वा अंगार पानीमा घोलेर कालो पाटीमा दली सुकाएर, सेतो खरी ढुङ्गा वा चकले लेखेर क, ख, ग, १, २, ३ र अ, आ, इ, ई भन्दै लेख्दै घोकेर कन्ठ पार्दै अक्षरारम्भ देखि उच्च शिक्षासम्म हासिल गर्ने हाम्रा पुस्तासम्मको पुस्तक पढ्ने बानी नै थियो । गुरुहरुले पनि किताब हेरेर ब्ल्याक बोर्डमा चकले लेख्दै बिद्यार्थीलाई सिकाउदै गर्नु हुन्थ्यो । तर, बिज्ञान र प्रबिधिको बिकास र सुबिधाको उपलव्धताले गर्दा न बिद्यार्थीलाई झोलाभरी किताब र कापी बोक्ने झन्झट, न गुरुलाई चक र डस्टर । पाठको शीर्षक, उदाहरणका लागी नमुना र सोधेका २÷४ प्रश्नका उत्तर ह्वाईट बोर्डमा बोर्ड मार्करले सरर हेडिङ लेखी दियो नर्सरी देखि बिश्व बिद्यालयसम्म प्रवचन शैलीमा खरखरी वाचन गर्यो, सरासर निस्क्यो । मेधावी बिद्यार्थीले बुझिहाल्छन् । कमजोर चाही ट्वाल्ल परेर हेर्दै समय बिताउछन् । बिद्यार्थीसंग पुरा किताब, कापी, कलम लगायत आवश्यक शैक्षिक सामाग्री छन् छैनन्, आफुले पढाएका कुरा कपिमा टिपे टिपेनन्, अघिल्लो दिनको होमवर्क पुरा गरे गरेनन्, हेर्ने फुर्सद पनि हुदैन र आवश्यकता अनुसार पुस्तकालयमा बिद्यार्थी लगेर छानीछानी किताब पढ्ने बानी बसाल्ने व्यवस्थापन पनि मिलेको जस्तो लाग्दैन । सम्पन्न बाबु आमाका सन्ततीलाई पढाई पछी खेलकुद र अतिरिक्त क्रियाकलाप त बिपन्नका लागी घरमा बाबु आमालाई काममा सघाउनु नै हाम्रो नियती छ । तर, अध्ययन गर्ने तिब्र ईच्छा हुने जो सुकैलाई पनि कमाउदै पढ्दै गर्ने अवसर बिकसित मुलुकहरुमा भैरहँदा नेपालमा पनि रोजगारसहित पढ्ने अवसर सृजनाका लागी पहल सुरु भएको छ भने हालसम्म फरक क्षमता भएका मदन पुरस्कार बिजेता झमक कुमारी घिमिरे लगायत धेरै सबलाङ्गहरु पनि साहित्यको क्षेत्रमा चम्कीरहेको र कमाउदै पढ्दै गरेर अनि छात्रबृत्ती सुबिधामा पढ्ने सुबिधा पाउदै बिभिन्न निकायको उच्च तहमा पुगिसकेको स्थितिमा जेहेन्दार तथा ईच्छुक सबै नागरिकले पुस्तक पढ्न पाउने सुबिधा न भएको चाही होईन ।

समयानुकुल स्मार्टफोन, ल्यापटप, कम्प्युटर चलाउदै डिजिटल शैक्षिक सामाग्री, ईलाईब्ररी, अनलाईन बुक सुबिधाको उपयोग गर्न सिकाउदै र सिक्दै अध्ययनलाई प्रबिधिमैत्री बनाउनुका साथै लगनशिलता र धैर्यतापुर्वक एकाग्रतामा लामो समयसम्म अध्ययन गर्दै ज्ञानको भण्डारसम्म पुग्ने महत्वपुर्ण माध्यम चाही पुस्तक नै हो भन्ने कुरामा दुईमत नहोला । लगनशिलता र धैर्यतापुर्वकको पुस्तक अध्ययनले व्यक्तिलाई कर्मचारीका रुपमा कार्यालयमा होस वा अध्ययन अनुसन्धानका क्षेत्रमा होस, लामो समयसम्म पनि बिना दिक्दारी कार्य सम्पादन गर्न सिकाउछ । सम्भव भएसम्म घरमा किताब राख्ने सानो दराज, समुदायमा सामुदायिक पुस्तकालय र बिद्यालय तथा बिश्वबिद्यालयहरुमा प्रयाप्त पुस्तक सहितका पुस्तकालय, ईन्टरनेटसहितका ईलाईब्ररी स्थापना गर्दै पुस्तक पढ्ने वातावरण सृजना गर्दै चन्चल स्वभावलाई नियन्त्रणमा राखी निश्चित बिषयगत क्षेत्रको ज्ञान हासिल गर्न पुस्तक अध्ययनमा ध्यान दिऔं, माथि उल्लेखित नारा जस्तै पढ्दै गर्दा तपाईले एक्लो महसुस गर्नु हुनेछैन भन्ने अनुभुती गर्नु हुनेछ ।
बिश्व पुस्तक दिवसको शुभकामना ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here