
टिका बहादुर कार्की
यथासम्भव सचेतना अपनाई भौतिक दुरी कायम राख्ने प्रयास गर्दा गर्दै, मास्क लगाउदै र हातमा सेनिटाईजर दलेर, झोलामा सेनिटाईजर बोकेर हिड्दा हिड्दै पनि अन्तरसम्बन्धीत मानव जिवनमा संसारका करोडौ मानिसलाई जस्तै यस पंक्तिकारलाई पनि कोभिड–१९ ले छोडेन । त्यो पट्यार लाग्दो १४ दिने होम आईसोलेसन स्वर्गीय पिताको बरखी बारेर कोराबारी कृया बस्दाको अवस्था भन्दा दर्दनाक रह्यो । न कोही कसैसंग भेटघाट, न घुमफिर, न कुनै खुसीयाली ।
२०७८।१०।४ गते राती सामान्य टाउको दुखाई र सुख्का खोकी लागे पछी कोरोनाको तेस्रो लहर (ओमीक्रोन भ्यारियन्ट) संगै प्रचारमा आएको सामान्य लक्षणलाई महसुस गर्दै काठेखोला गाउपालिका वडा नं २ भीमापोखरा स्थित गाउँबाट ४ कोष पैदल हिडेरै बागलुङ सदरमुकाम स्थित धौलागिरी उपक्षेत्रीय अस्पतालमा पिसिआर परिक्षण गराई सदरमुकाम स्थित डेरामा एक्लै बसिरहेका बखत श्रीमतीले फोन गरी लोकमार्गमा हिडेर आउन भने पछि रिजर्भ गरेर ल्याएको एउटा खाली ट्याक्सीमा पछाडी बसेर चुपचाप बसेर गाउँ स्थित आफ्नो घर आई पुगी पिसिआर रिपोर्टको प्रतिक्षा गरिरहें । २६ घण्टा पछी मोवाईलमा डल्फिन मेसेज आयो । डाउनलोड गरेर हेरेपछी सातोपुत्लो उडिगयो । उसै त उच्च रक्तचापको बिरामी भै नियमित औषधी सेवन गरिरहेको ज्यान दुई तीन घन्टा मानसिक रुपमा चेतना सुन्य हुन पुगेछु । आफन्तको फोनकल रिसीभ नगर्नुका साथै सम्बन्धित व्यक्ति बाहेक कसैलाई जानकारी गराउने होस भएन । अवाक भैरहदा तातो पानी, मासु, रस र डाक्टरले दिएको रुघाकोकीको ३ दिने औषधी सेवन गरि २४ घन्टा बिताउदा सामान्य खोकी बाहेक कुनै थप लक्षण देखा नपर्दा घर बाहिर हिड्न मन लागेर पनि स्वैच्छिक बन्दी जिवन बिताउन बाध्य भए ।
छोरीहरुको सल्लाह र श्रीमतीको सहयोगमा रुघाखोकीको औषधी, तातो पानी र २०/२२ दिन अगाडी मात्र सेवन गर्न छाडेको माछा, मासु मध्य मासु खान चाही फेरी सुरु भयो । बिहान बेलुका बाफ लिने, कुल्ला गर्ने, माघको कठाङ्ग्रीने जाडोमा ब्लाङ्केट ओडेर बस्दै गरें । अन्यत्र खुलमखुल्ला बेपर्वाह हिड्ने मानिसहरु मेरो घर अगाडी आउदा चाही मास्क लागाउने, कपडाले अनुहार छेकेर फटाफट हिड्दा दुखित हुँदै त्यो घरमा बस्न मन नलागी अस्पतालको आईसोलेसनमा जाने चाहना नराखेको पनि होईन । तर, म बिरामी हुनु पहिलै देखि ज्वरो तथा रुघाखोकीका कारण ओछ्यानमा रहेका र तिनका आफन्त चाही परिक्षण नगराएका कारण कोभिडका बिरामी थिएनन्, तर लम्पसार । जान्ने भएर पिसिआर गराएको गुनासो सुन्दै धैर्यधारण गर्दै चुपचाप होम आईसोलेसनमा रहनु बाहेक अर्को उपाय थिएन । टाउको दुखाई त एउटा सिटामोलले ठिक पारिहाल्यो तर, खोकी निको हुन हप्ता दिन कुर्नै पर्यो । सिम सिम पानी र हिउ परिरहेको दृष्य नियाल्न आगनमा निस्कंदा पनि फेरी खोकी लाग्ला जस्तो हुँदा हत्तपत्त कोठा बाहिर ननिस्की बिहान बेलुका आगो बालेर अनि राति केहिबेर हिटर बालेर शरिर न्यानो पारी राखें ।
तर, मलाई ठिक हुदै जांदा श्रीमतीलाई रुघाखोकी तथा ज्वरो आउन लागेपछी पुनः तनाव सुरु भयो । सम्भव भएसम्म भौतिक दुरी, मास्क, कपडा, भांडाकुडा, कोठा लगायत अलग अलग गरी धैर्यका साथ रुघाखोकी र ज्वरोका औषधी सेवन गर्दै तातो पानीले कुल्ला गर्ने, वाफ लिने कोठामा आराम गर्दा गर्दै हामी दुवै जना निको भएको महसुस गर्दै साहस बटुलेर पुरा सावधानीका साथ नियमित रुपमा करेसाबारी तथा वरपर निस्कंने क्रममा नजिक हुनेलाई ठीक भएको जवाफ दिईरहनु पर्यो । पहिला के भयो, स्वास्थ कस्तो छ भनेर चासो नराख्नेलाई निको भएपछी के को स्पष्टीकरण दिईरहनु ? भनेर दिक्क नलागेको पनि होईन । आफु संक्रमित भएर पनि परिक्षण नगराउने, सार्वजनिक स्थलमा सहभागी हुनेहरुबाट संक्रमित भईएको हुन सक्ने संभावनालाई मध्यनजर राख्दै आफु बिरामी भैसकेपछी नजिक पर्नेलाई जानकारी गराउदै आईसोलेसनमा रहँदा आफुबाट अरु व्यक्तिलाई संक्रमण भएको जानकारी प्राप्त भएन ।
यहांहरुलाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लगायतका लक्ष्यण देखिंदा छिटो भन्दा छिटो स्वास्थ उपचार गराउदै पट्यारै लागे पनि क्वारेन्टिन तथा आईसोलेसनमा रहनु हुन र केही दिन कडा परिश्रम हुने कुनै काम नगर्न मेरो अनुरोध छ । साथै, होम आईसोलेसनमा रहेका बिरामीको अवस्थाको जानकारी नलिईकन एक पटक पनि सम्पर्क नगरेका सरोकारवाला संस्थाबाट यति जना, उती जना, होम आईसोलेसनमा उपचार गराई रहेका वा निको भएका भनेर हावादारी रिपोर्ट मिडियामा नदिन हुन सुझाव दिन चाहान्छु । सुशासन र सुस्वास्थको व्यबस्था बिरामी, उसका आफन्त मात्र नभएर सरोकारवाला निकायबाट पनि न्युनतम जिम्मेवारीको तहसम्म बोध गर्ने गराउने माहोल बन्दै जाओस, मेरो कामना छ ।