बागलुङ, २ माघ । रस आवर फुटसल प्रा.लिले आयोजना गरेको विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले जितेको छ ।
आईतबार भएको फाइनल खेलमा सिदार्थ शिक्षा सदनले आदर्श विद्यामन्दिर माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
आदर्शले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा उपविजेतामा चित्त बुझायो । आदर्शले खेलको दोस्रो मिनेटमै व्रिजेश शाक्यको गोलबाट अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा सिदार्थका रविन्द्र खत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलको १३ औं मिनेटमा सुशिल खत्रीले गोल गर्दै आदर्शलाई दोस्रो पटक अग्रता दिलाएपनि सिदार्थका दिप श्रेष्ठले २३ औं मिनेटमा र सौरभ केसीले २४ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
आईतबार नै भएको पहिलो सेमिफाइनल खेलमा आदर्श विद्यामन्दिर माविले चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (ए)लाई ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा शिदार्थ शिक्षा सदनले चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (बि)लाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
उपाधि जितेको सिदार्थले नगद पाँच हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्यो । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ बजारका ६ ओटा विद्यालयका १० टिमको सहभागिता रहेको थियो ।