पोखरा, ३० कात्तिक । मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालकाे संख्या बढ्ने गरेकाे देखाएकाे छ ।
गत असारमा पनि हिमाली क्षेत्रमा ठूलाे पानी पर्याे, जबकि हिमालपारी ठूलाे वर्षा नभइ हिमपात हुनुपर्ने हाे । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकले गरेका छन् । नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालसँग न्युज कारखानाले संवाद गरेकाे छ । प्रस्तुत छ संवादकाे सम्पादित अंश
हिमाली क्षेत्रमा हिमपहिराेसहित विपद्का घटना किन बढ्दै छन् ? जलवायु परिवर्तनकै असर हो कि ?
घटनाको प्रकृतिकाे अध्ययन नगरी ठ्याक्कै भन्न अप्ठेरो छ । वास्तविकता बुझ्नु पर्छ । एउटा कुरा के प्रष्ट छ भने, पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १.१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्वन उत्सर्जन नै हो ।
तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा बृद्धि हुन्छ र पुनराबृत्ति पनि छिटोछिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो ।
बेमौसमी वर्षा र पहिरोका घटना बढिरहेका छन् । वर्षाको मौसम सकिएपछि पनि अनौँठो खालको वर्षा हुने थालेकाे छ जसकाे उदाहरण असाेज अन्तिम साताकाे भीषण वर्षा हाे । यी घटनालाई जलवायु परिवर्तनसँग जाेड्न सकिन्छ ।
गण्डकीका धेरै जिल्ला हिमालसँग जोडिएका छन् । त्यहाँकाे अवस्था कस्ताे छ ?
– जल तथा माैसम विज्ञाान विभागकाे तथ्यांक अनुसार नेपालमा तापक्रम बृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्रीसेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री छ । प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, ० डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठूलो अन्तर हो । त्यसमा पनि गण्डकी प्रदेशमै त्यस्तो देखिएको र हिमाली भेगमा तापक्रम बृद्धि अधिक छ । यस्ताे असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।
टुकुचे हिमालबाट हिमपहिरो खस्याे । गण्डकीमा हिमताल फुट्न सक्ने सम्भावना कति छ ?
– नेपालमका रहेका हिमतालमध्ये ४७ वटा जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । गण्डकीका तीन वटा हिमताल यस्ता छन्, जाे फुट्न सक्छन् ।
मनाङको ठूलागी ताल झन जाेखिममा छ । हिमाली क्षेत्रकाे जाेखिमबारे प्रदेश सरकारलाई पनि जानकारी गराएको छु । अन्तराष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनराबृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनाराबृत्ति हुने देखाएको छ । गण्डकीमा वर्षाको चरित्रमा ठूलो फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढ्छन् र थोरै दिनमै धेरै पानी पर्ने अवस्था छ ।
त्यसो भए सरकारले पनि पूर्वतयारी गर्नुपर्ने भयो ?
– पूर्वतयारीको भूमिका धेरै ठूलो छ । जोखिम पहिचान गर्नुपर्छ । जाेखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्वतयारी र विपद्सँग जुध्न तीन वटै सरकारबीच समन्वय हुनुपर्छ ।
मुस्ताङ र मनाङका भुगोल कति जाेखिममा छ ?
– मुस्ताङमा जोखिम छ, अरु ठाउँ छैन भन्न खोजेको होइन । नेपालका अरु जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम बृद्धिदर बढी छ । सुक्खा, खडेरी पनि यहाँ धेरै छ ।
खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्वन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको काेप-२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेण्ट हो । अर्को स्लो इभेण्ट पनि छ ।
लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ । मेरा विद्यार्थीले मुस्ताङ अध्ययन गरेका छन् । याकको चरन क्षेत्र घटेकाले धेरैले पेशा छाडेका छन् । अरु काममा लागेका छन् ।