दशैंको मुखमा यसरी हुँदैछ उपभोक्तामाथि ठगी

काठमाडौं, १६ असोज । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रि–लेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।

केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेट लगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्य बराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रि–लेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ ।

विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला, क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्य बराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाख बराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउ समेत गरिएको विभागले जनाएको छ ।

त्यसरी मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी म्याद सकिएका खाद्य वस्तुहरू रिलेबलिङ गरी बिक्रीवितरण गर्नेलाई जरिवाना र जेल सजाय समेत हुने कानूनी प्रावधान रहेको छ । विशेषगरी चाडबाडको समयमा यसखालका अपराध शृंखला बढ्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

वाणिज्य विभागले कहिलेकाहीँ मात्रै अनुगमन गर्ने भएकाले पनि लुकीछिपी म्याद सकिएका वस्तुहरूमा रिलेबलिङ गरी बिक्री गर्ने क्रममा कमी आएको छैन ।

यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न वाणिज्य विभाग तथा जिल्ला प्रशासन कार्यालयबाट समेत नियमित रूपमा अनुगमन गर्न जरुरी रहेको उपभोक्ताकर्मीको माग छ । विभागकी कानून उपसचिव रञ्जु गौतमले विभागले दैनिक रूपमा नै ५/६ वटा टोली बनाएर अनुगमन गरिरहेको दाबी गरिन् । यस कार्यमा वाणिज्य विभाग, प्रशासन कार्यालय र स्थानीय तहबीच उचित समन्वय नहुँदा पनि रि–लेबलिङ गरी वस्तु बिक्रीवितरण गर्ने व्यापारी निरुत्साहित हुन सकेका छैनन् । राजधानी दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here