नाम मात्रैको मदन–आश्रित स्मृति पार्क !

राम बहादुर थापा ‘अविरल’
बागलुङ, ५ असोज । उद्यान उद्यानझैँ छैन भने, बोर्डमा नाम मात्रै झुन्ड्याएर के गर्ने ? यहाँको ‘मदन–आश्रित स्मृति पार्क’छेउ उभिँदा जो कोहीको मनमा खेल्ने प्रश्न हो यो ।बागलुङ नगरपालिका–१ रामरेखास्थित सो उद्यानको नाम जति श्रद्धापूर्वक राखिएको छ, उति नै त्यसको संरक्षण र रेखदेखमा अनदेखा गरिएको छ ।

जीर्ण र फुङ्ग उडेको प्रवेशद्वार । माथिपट्टि मदनकुमार भण्डारी र जीवलाल आश्रितको धुमिल तस्बिर अङ्कित बोर्ड । भित्र बुट्यान र झाडीले छोपेको उद्यान परिसर, जहीँतहीँ फोहर तथा लत्रिएका तारबार ।

उद्यान भन्नलाई न कुनै पूर्वाधार छ, न साजसज्जा । दिवङ्गत नेताका नाममा बनाइएको उद्यानमा उहाँहरुको सालिकसम्म छैन । बेहाल स्थितिमा उद्यान छ । त्यो दुरावस्थाबाट उद्यानलाई ननिकालेसम्म नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको सम्मान हैन, अपमान हुनेछ ।

एमाले बागलुङ नगर कमिटीका संयोजक धनबहादुर परियारका भनाइमा उद्यान अलपत्र मात्र हैन, महाअलपत्र छ । “मदन–आश्रितलाई आदर्श मानेर हिँडेका हामी एमालेजनका लागि यो लज्जाको विषय बनेको छ,” उनले भने ।

उद्यानले स्वरुप ग्रहण गर्न नपाउँदै बीचैमा अलपत्र परेको हो । त्यसो हुनुको अपजस एमाले नेतृत्व पङ्क्तिलाई पनि जान्छ । बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माका पालामा उद्यानको योजना अगाडि बढेको थियो । रामरेखा सामुदायिक वनको झन्डै तीन रोपनी जग्गा उद्यानले ओगटेको छ ।

एमाले नेता परियारका अनुसार उद्यानको निर्माण, व्यवस्थापन र सञ्चालनबारे पार्टीभित्र खासै छलफल हुने गरेको छैन । “उद्यानको समितिमा को आयो, बजेट के छ भन्नेबारे हामीलाई केही थाहा हुँदैन,” उनले गुनासो गरे ।

उद्यानमा पूर्वाधार निर्माण र सौन्दर्यसम्बन्धी काम गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने परियारको भनाइ छ । उद्यान निर्माण समितिका पूर्वाध्यक्ष केवी राना मगरले बजेट अभावमा सोचे जसरी काम हुन नसकेको बताए ।

झिनो र टुक्रे बजेटले उद्यान नबन्ने उहाँको भनाइ छ । “कतिपय नीतिगत बाधा पनि आए, राज्यले रूख काट्न पाइँदैन भन्छ, उद्यान परिसरमा रूखैरूख छन्, अनि कसरी उद्यान बनाउने ?,” राना मगरले प्रश्न गरे ।

उनले आफू पोखरासम्म पुगेर उद्यानको डिजाइनकर्ता इन्जिनियरलाई भेटेर काम सुरु गर्न खोजे पनि बजेट नजुट्दा पछि हट्नु परेको सुनाए । पर्यटन कार्यालयबाट आएको रु ६ लाख बजेटबाट सानो एकतले भवन भने बनाइएको उनको भनाइ छ । सो भवन पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । प्रतिनिधिसभा सदस्य एवं उद्यान व्यवस्थापन समितिका पूर्वाध्यक्ष मनकुमारी जिसीले मध्यपहाडी पुष्पलाल लोकमार्ग विस्तार योजनाले उद्यानको काम अन्योलमा परेको बताए ।

“सडक विस्तार हुँदा कति जग्गा रहन्छ, त्यसपछि बल्ल उद्यानको कामलाई गति दिने भन्ने थियो तर सडक विस्तार भएन, त्यसले पनि अलमल भयो,” उनले भने । उद्यानको तल्लो र माथिल्लो भागमा लोकमार्ग पर्छ ।

उनले आफू संयोजक हुँदा र पछि निर्माण समितिले पनि घेराबार, भवन निर्माण लगायतको काम गरेको स्मरण गरे । गण्डकी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयबाट रु १५ लाख बजेट विनियोजन भएकाले यो वर्ष उद्यान निर्माणको कामलाई अगाडि बढाइने जिसीले बताए । हुँदाहुँदा अहिले उद्यान नेतृत्वविहीनको स्थितिमा छ । पछिल्ला वर्षमा उद्यानमा मदन–आश्रितको जन्मजयन्ती र स्मृति दिवससमेत हुन छाडेपछि एमालेजन नै असन्तुष्ट छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here