विश्वासको मत लिँदा प्रधानमन्त्री ओलीलाई जसपाको भर

काठमाडाैं, २० बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतवार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाले ओलीलाई विश्वासको मत दिने प्रस्ट पारे । तर आफूहरूले उठाउँदै आएको माग सम्बोधन गरेपछि मात्रै विश्वासको मत दिने शर्त अघि सारिएको उनले बताए ।

‘हामीले उठाउँदै आएको केही माग पूरा भएको र केही पूरा हुने प्रक्रियामा छ, ती माग सम्बोधन भएपछि पार्टी निर्णयपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्छौं,’ झाले भने, ‘पार्टी बैठक बसेरै यस विषयमा छलफल गरेर ठोस निर्णय गर्छौं ।’

प्रधानमन्त्री ओलीले केही समयअघि जसपाले उठाउँदै आएको मुद्दा फिर्ता माग मन्त्रिपरिषद् बैठकबाटै सम्बोधन गरिसकेका छन् । केही मुद्दा फिर्ता प्रक्रियामा रहेको जसपाले जनाएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले समेत सार्वजनिक रूपमै आफ्ना माग सम्बोधन भए सरकारलाई समर्थन गर्न सकिने प्रतिक्रिया व्यक्त गर्दै आएका छन् । माग सम्बोधन भएपछि सरकारमा सहभागी हुने वातावरण बन्दै गएको टिप्पणी उनीहरूको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई समूह ओली सरकारलाई समर्थन नदिने अडानमा छन् । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन र सरकारमै जसपा नेता सहभागीदेखि संघीय सरकारमा सहभागी हुने विषयलाई लिएर पार्टीभित्र २ समूह निर्माण भएको छ ।

‘सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा विवाद उत्कर्षमा पुगेकै बेला पार्टी नै विभाजन हुने स्रोत बताउँछ । ठाकुर, महतो समूह ओली सरकारप्रति सकारात्मक र यादव, भट्टराई, राई समूह विपक्षमा उभिएपछि पार्टी विवाद बढ्दै गएको छ ।

सरकारले आगामी २७ वैशाखमा संसद् अधिवेशन बोलाउने र विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेपछि थप पेचिलो बनेको छ । अदालतले एमाले माओवादीलाई पुरानै स्थितिमा फर्काए पनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्राविधिक रूपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

२७५ सदस्यको प्रतिनिधिसभामा एमालेको १२१ सिट छ । कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ पदमुक्त भएपछि), जसपाको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । कांग्रेसका २ र जसपाको २ सांसद निलम्बित छन् ।

एमाले र जसपाले सरकारलाई विश्वासको मत दिए पनि कांग्रेस, माओवादी केन्द्रले विश्वासको मत दिने छैनन् । जसपाभित्र पनि ठाकुर र महतो पक्षले मात्रै विश्वासको मत दिनेछन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने सम्भावना समेत बढेको चर्चा पार्टीभित्र जारी छ । राजधानी दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here