टेकमान विक

अर्जुन कार्की
बागलुङ, ७ मंसिर । तमानखोला गाउँपालिका वडा नम्बर १ का टेकमान विक ५५ वर्षको हुनुभयो । १६ वर्षको उमेरदेखि तमानखोलामा माछा मार्दै आउनुभएका विकको घरमा अहिले तीन जनाको परिवार छ । वर्षाको खेतीपाती सकेपछि विक अहिले दैनिक तमानखोलामा दुवाली छेकेर माछा मार्ने काम गर्दै आएका छन् ।

विकले उनका चार जना छिमेकीहरुसँग मिलेर ठिहिराउने पानीमा दिनभर लगाएर माछा मार्ने गर्दछन् । उनीहरुले खोलाबाटै किलोको रु. ६५० का दरले माछा विक्री गर्दै आएका छन् ।

वर्षातको समयमा घरमा काम गर्ने आफ्नो विकले ३९ वर्षदेखि निरन्तर हिउँदका फुर्सदिला दिनहरु विहानदेखि साँझसम्म खोलामा माछा मार्दै आम्दानी गर्ने गरेको बताउनुभयो । ‘वर्षाको खेतीपाती सकेर गत भदौ महिनादेखि दैनिक माछा मार्न थालेको छौं,’ विकले भन्नुभयो–‘घरमा श्रीमान र छोरा छन् । माछा मारेर दैनिक गुजारा चलाउँदै आएको छौं ।’

तमानखोलामा मदुवाली थुनेर माछा मार्दै स्थानिय युवा । तस्विरः अर्जुन कार्की

‘कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन । कुनै महिना त माछाबाटै १५/२० हजारसम्म कमाइ हुने गरेको छ,’ विकले भन्नुभयो । उहाँले घरमा गाइबस्तुको हेरचाह श्रीमती र छोराले गर्ने र आफुले छिमेकीहरुसँग मिलेर खोलामा माछा मारेर घर खर्च चलाउँदै आएको बताउनुभयो । उहाँले धेरै जासो खोलाबाटै माछा विक्रि हुने गरेको र बिक्री नहुँदा बोंगादोभान बजारमा लगेर बेच्दै आएको जानकारी दिनुभयो ।

तमानखोला गाउँपालिकाको लाम्मेला हुँदै तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको मुछारसम्मै र बोङ्गाखोला र खुंखानी खोलामा स्थानियहरुले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरेका छन् । तमानखोलामा पाइने असला माछा स्वादिष्ट मानिने र बोंगादोभानका अधिकांश होटल, रेष्टुराँमा माछाको परिवार पाइने स्थानिय जीवन पुनले बताउनुभयो ।

तमानखोलामा मारेका माछा खोलाबाटै विक्रि गर्दै स्थानिय महिला । तस्विरः अर्जुन कार्की

तमानखोला माछाका लागि समेत चिनिने गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले स्थानियहरुले खोला नै फर्काएर माछा मार्ने गर्दा असला माछा लोप हुने देखेर गाउँपालिकाले माछा मार्न कडाइ गर्न थालेको बताउनुभयो । ‘तमानखोला असला माछाको लागि समेत परिचित छ,’ अध्यक्ष बुढाले भन्नुभयो–‘चिसो र स्वच्छ पानीमा हुर्केको माछा भएकोले स्वादिष्ट हुने हुँदा स्थानियहरुले करेन्ट लगाएर, खोला फर्काएर माछा मार्दा लोक हुने देखेर पछिल्लो समय कडाईसमेत गरिएको छ ।’

‘वडा नम्बर ३ मा निश्चित समय तोकेर माछा मार्न पाइने व्यवस्था गरिएको र वडा तहमा फुकुवा भएपछि मात्र माछा मार्न दिइन्छ,’ अध्यक्ष बुढाले भने ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here