बागलुङ, ८ मंसिर । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका पुराना साँधुरा तथा चिप्ला गोरेटो बाटाहरु व्यवस्थित पदमार्गको रुपमा स्तरवृद्धि गरिएको छ ।

परम्परागत रुपमा प्रयोग हुँदै आएका महत्वपूर्ण तथा बहुउपयोगी गोरेटो बाटाहरुलाई ढुङ्गा, माटो तथा सिमेन्टको सिँढी निर्माण गरी पदमार्ग तयार गरिएको हो ।

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भए पछि सडकको नयाँ ट्रयाक निर्माणलाई भन्दा पुराना बाटोको स्तोरोन्नतीमा ध्यान दिँदै आएका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माका अनुसार वडा कार्यालय, गाउँपालिका र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत भीमापोखरामा तीन वर्षको अवधिमा १६ वटा पदमार्ग निर्माण गरिएको छ ।

भीमापोखराको सलाम–जनकल्याण मावि, काप्रे–गहतेडाडा, खेताघर–मनेकोडाडा, फाँटा–घोविनडाँडा, चिप्लेभिरा–गैह्रथोक हुँदै वडा कार्यालय, गैह्रथोक–मुलठाना, नवराजको घर–कुनाघरसम्मको पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ भने चिप्लेचौर–विटा, नौतले ढिक–डोहेरे, भण्डारी ढिक–सामुदायिक भवन, दसपना मोटरबाटो–मनेडाडा, डुडिया–कुर्थुके–दपसा, भतेरचौर–महारानी थान, निरलपाटा–चरिपा–नाकेघारा र भतेरचौर–गैह्रथोक पदमार्ग निर्माणधिन अवस्थामा छन् ।

गाउँपालिकाको नीति अनुरुप वडा कार्यालयहरुले पनि नयाँ सडक विस्तार योजना भन्दा पनि गाउँका टोल–टोलमा पुग्ने पुराना गोरेटो बाटोलाई पदमार्गको रुपमा विकास गर्न थालेका छन । काठेखोला गाउँपालिका–२ भीमापोखराले परम्परागत गोरेटो बाटोलाई स्तरोन्नती गरेर पदमार्गको रुपमा विकास गरेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।

‘हाम्रा बा, आमाले घाँस दाउरा गर्दा प्रयोग गरेको बाटोलाई व्यवस्थित गर्न थालेका छौँ’ अध्यक्ष शर्माले भन्नुभयोे–‘सडक विस्तार भन्दा नमुना पदमार्ग निर्माण गर्दा पर्यटन विकास र दीर्घकालिका विकासलाई सहयोगी बन्ने अपेक्षा गरेका छौँ ।’

पुराना गोरेटो बाटाहरु साँधुरा तथा बर्खामा चिप्लो हुने हुँदा व्यवस्थित गरेको वडाध्यक्ष शर्माको भनाई छ । वडा कार्यालय साविकका सबै वडामा दुईदेखि तीन वडा पदमार्ग निर्माण गरेको छ । नयाँ सडक विस्तार गर्दा बस्ती जोखिम पर्न सक्ने स्थान र पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण गरेको अध्यक्ष शर्माको भनाई छ ।

बजेट र आवश्यकताका आधारमा वडा कार्यालयले प्रत्येक वर्ष पदमार्गको कार्यक्रमलाई निरन्तरता दिएको छ । वडा कार्यालय पर्यटकीय क्षेत्र ऐतिहासिक भीमादरबार, नयाँ पर्यटकीय गन्तव्य दाहारे गौडा क्षेत्रमा पुग्ने पदमार्गको योजना निर्माण गरेको छ । पर्यटकीय क्षेत्रमा मोटरबाटो भन्दा पनि परम्परागत बाटोलाई स्तरवृद्धि गरी मौलिक पहिचानसहितको निर्माण गर्ने योजना रहेको वडाध्यक्ष शर्माको भनाई छ ।

‘पुरानो गोरेटो बाटोमा तलमाथि गर्दा बर्खामा चिप्लने समस्या थियो’ भीमापोखरा सिमका रामप्रसाद शर्माले भन्नुभयो–‘अहिले सिढीसहितको पदमार्ग भए पछि ज्येष्ठ नागरिक, बालबालिकाहरुलाई तलमाथि गर्न सहज भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here