विद्यालयलाई प्रवासीको सहयोग

बागलुङ, ११ भदौ ।
गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।

अक्षयकोषका रुपमा रहने गरी आर्थिक सहायता प्रदान गरिएको समितिका अध्यक्ष रामु थापा काजीले बताउनुभयो । समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट उक्त रकम जुटाइएको थियो ।

समितिको बैठकले कोरोनाका कारण तीज पर्वमा दर खुवाउनेलगायत औपचारिक कार्यक्रम गर्न नसकिएपनि महिला/बालबालिकाका क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको थियो ।

“शैक्षिक विकासमा सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नै गाउँको विद्यालयलाई रोज्यौँ”, अध्यक्ष थापाले भन्नुभयो । सो विद्यालयमा दलित समुदायका बालबालिका मात्र अध्ययनरत छन् । विसं २०५३ सालमा खुलेको विद्यालय नेरफेरमा दलित बाहुल्य बस्ती छ ।

विद्यालयको आर्थिक स्थिति पनि कमजोर छ । विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रधानाध्यापक कल्पना गौतमले बताउनुभयो । “विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन”, उहाँले भन्नुभयो, “समस्यामा परेको विद्यालयलाई सहयोग गर्ने उहाँहरु धन्य हुनुहुन्छ ।”

अक्षयकोषको ब्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत÷सम्मान गर्ने सोच विद्यालयको छ । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा १८ छात्रा र १३ जना छात्र छन् । विद्यालयमा स्थायी र राहत गरी दुई शिक्षकको दरबन्दी छ ।

अन्य शिक्षक/कर्मचारीको खर्च स्थानीय स्रोतबाट धानिएको छ । प्रदेश सरकारको सहयोगमा गत वर्ष दुई र यो वर्ष पनि दुई कोठे भवन बनेको छ । विद्यालयलले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ ।

कम्प्युटरलगायत प्रविधियुक्त सिकाइका लागि भने विद्यालयमा स्रोत, साधनको कमी छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन समन्वय भइरहेको महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले बताउनुभयो । जापानबाट सहयोग ल्याउन पनि उहाँले पहल गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here