बागलुङ, ३० जेठ ।
कृषिलाई बजारीकरण गर्नको लागि बागलुङमा कृषि हाट बजार संचालनमा ल्याइएको छ । बागलुङ नगरपालिकाको सहयोग र जिल्ला कृषि सहकारी संघको सहजिकरणमा बागलुङ नगरपालिका–३ गुठीमा हप्ताको २ दिन मंगलबार र शनिबार खुल्ला गर्ने गरि कृषि हाट बजार संचालनमा ल्याइएको हो ।

कृषि उत्पादनलाई सहज रुपमा आपूर्ति गर्न र बिचौलिया भगाउने उद्देश्यले बजारमा कृषि हाटबजारको सुरु गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । उहाँले हाट बजारमा कृषक र ग्राहकका विच सिधा सम्पर्क हुने बताए । नगरप्रमुख पौडेलले हाट बजारले स्थानिय कृषकहरुलाई प्रोत्साहन गर्ने र बाह्य तरकारीहरुलाई निरुत्सान गर्ने बताए ।

हाट बजार संचालनको लागि नगरपालिकाले ८ लाख रुपैयाँ र सहकारी संघले १ लाख ६२ हजार व्यवस्थापन गरेको बताइएको छ । नगरप्रमुख पौडेलले पहिलो वर्ष हाट बजारको जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणको लागि ५ लाख रुपैयाँ र यस बर्ष शौचालय लगायतको पूर्वाधारको लागि ३ लाख रुपैयाँ विनियोजित गरिएको बताए ।

नगरपालिकाले २ स्थानमा बार्षिक ३ लाख रुपैयाँ जग्गा भाडा लिई हाट बजार संचालनमा ल्याएको हो । हाट बजारमा कृषकहरुले निःशुल्क रुपमा आफुले उत्पादन गरेका कृषि वस्तुहरु विक्रि वितरण गर्न सक्ने नगरप्रमुख पौडेलले बताए । ‘यहाँ कृषकहरुलाई निःशुल्क रुपमा विक्रि गर्नको लागि हाट बजार संचालन गरिएको हो,’ नगरप्रमुख पोडेलले भने–‘कृषकहरुले आफै यहाँ अन्य पूर्वाधार निर्माणको लागि केहि रकम संकलन गरे गर्नुहोला हामीले निःशुल्क रुपमै जग्गा उपलब्ध गराएका हौं ।’
भिडियो

नगरपालिकाले हाट बजार संचालन गरेपछि कृषकहरु खुसी भएका छन् । मंगलबार हाट बजारमा आफुले उत्पादन गरेको तरकारी बेच्न आउनुभएका बागलुङ नगरपालिका–४ का टेक बहादुर विकले ग्राहकहरुसँग सिधा सम्पर्क हुँदा दुवै जनालाई फाइदा भएको बताए । ‘पहिले विक्रि गर्नको लागि व्यवसायीहरु घरमा जानुहुन्थ्यो, कहिलेकाही आफै डोकामा बोकेर दिनभर बजारमा विक्रि गर्न डुल्नुपथ्र्यो तर दुःख अनुसारको मुल्य पाइने थिएन,’ कृषक विकले भने–‘आजदेखि यहाँ आएर विक्रि गर्न लागेको छु, अहिले उपभोक्ताहरुसँग सिधा सम्पर्क हुँदा आफ्नो दुःखको मुल्य पाएको छुभने उपभोक्ताहरुले पनि सस्तोमा तरकारी किन्न पाउनुभएको छ ।’

हाट बजार पहिलै सुरु गर्नुपर्ने भएपनि ढिलै भएपनि सुरु भएको कृषक गंगाबहादुर थापाले जानकारी दिए । उनले बागलुङमा अहिलेसम्म हाट बजारको सुरुवात नभएको र अहिले भएपनि यसलाई कृषि बजारको रुपमा विकास गर्ने योजना बनाएको जिल्ला सहकारी संघका पदाधिकारी समेत रहेका थापाले बताए । उनले कृषकलाई पनि फाइदा होस् र उपभोक्ताहरुले पनि ताजा तरकारी खाना पाउनभन्ने सोचका साथ हाट बजार संचालनमा ल्याउने योजना बनाएर संचालन गरिएको बताए ।

कृषक थापाले बाहिरी जिल्लाबाट आउने तरकारीहरु पूर्ण रुपमा बन्द गर्नको लागि यहाँका कृषकहरुलाई प्रोत्साहन गर्ने र फलफुल र तरकारी खेतीको लागि राज्यबाट अनुदानको व्यवस्था गरिनुपर्ने बताए ।

हाट बजार संचालनमा आउँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा पुगेको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । ‘पहिले विचौलीयाहरु हावि हुँदा कृषकले दुःखको पारिश्रमिक नपाउने र उपभोक्ताहरुले महंगो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता थियो,’ अध्यक्ष श्रेष्ठले भने–‘हाट बजारले त्यसको अन्त्य गर्ने छ ।’ उनले हाट बजारलाई निरन्तरता दिनुपर्ने बताए ।

भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here