धनुषामा सुमो दुर्घटना ६ जनाको मृत्यु

काठमाडौं, १३ माघ ।
काठमाडौंबाट झापा जाँदै गरेको सुमो पोखरीमा खस्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले ६ जनाको ज्यान गएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार बा ९ च ३३१४ नम्बरको सुमो धनुषाको गणेशमान चारनाथ–८ मा शनिबार बिहान २ः३० बजे दुर्घटना भएको हो ।
काठमाडौंबाट झापा जाँदै गरेको यात्रुवाहक सुमो शनिबार बिहान धनुषाको गणेशमान चारनाथ स्थित एक पोखरीमा खस्दा ६ जनाको ज्यान गएको छ भने पाँच जनाको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले जनाए अनुसार मृत्यु भएकामा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का प्रल्हाद न्यौपाने र खोटाङ निरपानेडाँडाका याम बहादुर चौहान  रहेको छ भने सुमोमा ११ यात्रु सवार थिए ।
सुमो अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ भने यसबारे थप जानकारी आउन बाकी रहेको छ ।