प्रदेश ४ मा एमालेका आलोपालो मुख्यमन्त्री !

काठमाडौं, ८ माघ ।
दुई नेतावीच भागवण्डा नमिल्दा पोखरा मुकाम रहेको ४ नम्बर प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री बनाउने मध्यमार्गी उपाय निकालेको छ ।
प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुबैको दाबी छ । किरण वामदेव गौतम निकट हुन् भने पृथ्वीसुब्बा केपी ओलीनिकट हुन् ।
किरण र पृथ्वीसुब्बा दुबै पूर्वमन्त्री भइसकेका सिनियर नेता हुन् । किरण पूर्ववनमन्त्री हुन् भने पृथ्वी पूर्वपर्यटन मन्त्री ।
वरिष्ठताको हिसाबले पृथ्वीसुब्बाभन्दा किरण पहिले नै पार्टीको केन्द्रीय सदस्य बनेका नेता हुन् । तर, हाल किरणभन्दा पृथ्वी सिनियर तहमा छन् । किरण गत महाधिवेशनमा उपाध्यक्षमा उठेर हारेका थिए भने पृथ्वीसुब्बा एमालेको सचिव पदमा बहाल छन् ।
दुवै नेताले मुख्यमन्त्रीमा दाबी नछाडेपछि आधा–आधा कार्यकाल बाँड्ने गरी सहमति जुटाउन रविन्द्र अधिकारीलगायतका नेताले शीर्ष नेतालाई मध्यमार्गी उपाय सुझाएका हुन् ।
दुई नेतालाई मिलाउन मध्यस्थता गरिरहेका एक एमाले नेताले भने– पाँच वर्षे कार्यकालमा आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने लगभग सहमति भइसकेको छ, अब पहिलो कार्यकाल कसले लिने भन्ने मात्र हो ।
पहिलो कार्यकाल वर्णानुक्रम अनुसार, पार्टीको पद अनुसार वा गोलप्रथा के आधारमा तय गर्ने भन्ने कुरा मिलाउन बाँकी रहेको एमाले स्रोतले बतायो ।
गुरुङ र मगर समुदायको बाहुल्य रहेको प्रदेश ४ को मुख्यमन्त्री गुरुङ समुदायबाटै बनाउने ओलीको चाहना बुझेरै रविन्द्र अधिकारी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमै चुनाव लडेका हुन् । नत्र अधिकारीले चुनावअघि ४ नम्बरको मुख्यमन्त्री बन्न चाहेका थिए ।