पिसाब, पत्थरी र दशैं

डा.अर्जुनदेव भट्ट,
बरिष्ठ युरोलोजिष्ट, मेडिकेयर अस्पताल
सामान्य अवस्थामाभन्दा मानिसले चाडपर्वको समयमा आफूलाई बढी नै मनोरञ्जन गर्न चाहन्छ । नेपाली समाजका दशैं र तिहार यस्तै महान चाडपर्व हुन्, जहाँ वर्षभरीका दुःख बिर्संदै रमाइलो गर्ने प्रयास गरिन्छ । तर यी चाडपर्वमा गरिने खानपिनको लापरबाहीले बिभिन्न रोग निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ । यस लेखमा मैले खास गरेर पिसाब प्रणालीमा खानपिनले पार्नसक्ने नकारात्मक असरबारे चर्चा गर्ने प्रयास गरेको छु ।
दशैंतिहार भन्ने बित्तिकै हामी चिल्लो मासु र गरम मसला बढी प्रयोग भएको खाना सम्झन्छौं । तर यतिले मात्र हाम्रो पर्व सकिँदैन । पछिल्ला बर्षमा त चाडपर्वमा धूमपान र मद्यपानले जताततै प्रोत्साहन पाएको देखिन्छ ।
अर्कोतिर आमरुपमा नै धूमपान र मध्यपानको घोर बिरोध र भत्र्सना हुने गरे पनि यथार्थमा त्यो केवल हात्तीको देखाउने दाँतमात्र सावित भएको छ । यद्यपि यस लेखमा पश्चिमी स्वास्थ्य विज्ञानको मान्यता अनुरुप खानपिनमा बिचार गर्नुपर्छ भन्नुको पछाडि के तर्क छ, त्यो छोटकरीमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
चाडपर्वमा मात्र होइन, अरु समयमा पनि केही मानिस नियमित रुपमा मद्यपान गर्ने गर्छन् । तर चाडपर्वमा भने झनै बढी मानिस यो क्रियाकलाप अपनाउँछन् । मद्यपान सेवन गर्दा हुने नोक्सानभन्दा यसको लत र यसबाट हुनसक्ने कलोजो, मुटु, मिर्गाैला, आन्द्रा (प्याङ्क्रियाज) आदि अंगमा पर्ने नराम्रो असर बिर्सनु हुदैन ।
खास गरेर विभिन्न औषधि उपचारका क्रममा रहेका व्यक्तिले मद्यपान गर्दा तिनीहरुको स्वास्थ्यमा नराम्रो असर पर्नसक्छ । मधुमेहका बिरामीहरुले मद्यपान गर्दा उनीहरुको शरीरमा ग्लुकोजको मात्रा कम भएर थाहै नपाइ ज्यानसमेत गुमाउन सक्छन् । मद्यपानका कारण व्यक्ति सुतेको छ भन्ने भान अरुमा परेमा उसले समयमै आवश्यक सहयोग नपाउने संभावना निकै बढ्छ ।
मिर्गाैलाका रोगमा खास गरेर पत्थरी भएकाहरु, मूत्र संक्रमणबाट पीडित, यूरिक एसिड, रक्तचाप उच्च भएकाहरु मध्यपानबाट झन पीडित हुन्छन् । त्यस्तै प्रोष्टेट ग्रन्थी वा अरु कुनै कारणले पिसाब फेर्न बल गर्नुपर्ने समस्याका बिरामी, पटकपटक पिसाब फेरिरहनुपर्ने बिरामीलाई मद्यपानले थप समस्या निम्त्याउने गर्छ ।
पत्थरी भएकाहरु बियर सेवन गरेमा बढी पिसाब हुने र पत्थरी निस्कन सजिलो हुन्छ भन्ने अन्धविश्वासका कारण मद्यपानकालागि प्रेरित भएको पनि भेटिन्छ । तर, चिकित्साशास्त्रका अनुसार यो ज्यादै खतरनाक सोचाइ हो
मद्यपानले यूरिक एसिडको मात्रा झन् बढाएर पत्थरीलाई ठूलो पार्न सहयोग पु¥याउन सक्छ । मद्यपानले पिसाब धेरै गराएपनि बिरामीले आवश्यक मात्रामा पानी नपिएमा शरीर सुख्खा भएर उल्टो असर गर्छ ।
प्रोष्टेटग्रन्थी बृद्धि भएका बिरामीमा मद्यपानपछि एक्कासी पिसाब रोकिने खतरा बढी हुन्छ । उनीहरु सजिलैसँग पिसाब निखार्न नसक्ने भएकोले प्रत्येक पटक मूत्रथैलीमा ननिख्रिएको पिसाब बढेर जान्छ । यसबाट मूत्र संक्रमण र पिसाब पूरै रोकिने संभावना बढी हुन्छ ।
यस बाहेक पिसाब रोक्न नसक्ने, पिसाब चुहिने वा सुतेको समयमा पनि चाल नपाइकनै पिसाबले लुगा भिजाउन सक्छ । प्रोष्टेटग्रन्थीको संक्रमण भएका व्यक्तिहरुलाई मद्यपानबाट रोग बल्झिने खतरा निकै हुन्छ ।
यस्ता समस्याका बिरामीहरु मद्यपानपछि पिसाबले च्यापेर पिसाब फेर्न गएपनि पिसाब नआएर पोलेको अनुभव मात्र गर्दै उभिरहनु पर्ने हुनसक्छ । मद्यपान गरी सवारी साधन चलाउनु वा सवारी साधन प्रयोग गर्नुपरेमा कुनै पनि हालतमा पिसाब नफेरी सवार गर्नुहुन्न । कथंकदाचित सवारी दुर्घटना भएमा मूत्रथैली नै फुट्ने उच्च संभावना रहन्छ ।
सामान्यतयाः रक्सी सेवन गरेर आफंै सवारी साधन हाक्नु नियमको उल्लंघन नै हो । तर अरुले हाँक्ने सवारी साधनमा पनि मूत्रथैली खाली गरेर मात्र यात्रा गर्नुपर्छ । मूत्र संक्रमण भएकाहरुलाई मद्यपानले रोग बढाउन नै सहयोग पु¥याउँछ ।
मद्यपानसँगै गरम मसला भएको र बढी चिल्लो खाना प्रयोग तथा पानीसमेत कम पिउँने गरियो भने अझ बढी नराम्रो असर पर्न सक्छ । खास गरेर दशैंमा रातो मासु बढी नै प्रयोगमा आउने गर्छ । यूरिक एसिडका बिरामीहरुमा पिसाबको समस्यासँगै जोर्नी दुख्ने समस्या देखिनुमा रातो मासुको सेवन मुख्य कारण पनि हुनसक्छ । शहरीया जीवनशैली, हिँड्डुलमा कमी, खानामा आवश्यक भन्दा बढी चिल्लोपन र मद्यपानले चाडपर्व रमाइलो पार्ने नाँउमा हाम्रो शरीरमा अनावश्यक शक्तिसञ्चय गर्छन् ।
यसले गर्दा चाडपर्वको छोटो अवधिमा पनि पाँच किलोसम्म तौल बृद्धि भएकाहरु पनि भेटिने गर्छन् । सधैं कसरत गर्नेहरुमध्ये पनि चाडपर्वको समयमा केही फरक नियम बनाइ हिँडडुल गर्न छाड्छन् । यसले पनि उनीहरुको तौल बढ्ने गर्छ ।
आन्द्राको घाउ, कलेजोको सिरोसिस्, उच्च रक्तचाप, मुटुरोगी, मधुमेह, यूरिक एसिड, र मानसिक रोगका बिरामीले चाडपर्वमा खानपिन गर्दा सचेत हुनुपर्छ ।
त्यस्तै मिर्गाैलामा पत्थरी भएका, पिसाब संक्रमण र प्रोष्टेटग्रन्थीका रोगीहरुले मद्यपान, धूमपान, चिल्लो तथा धेरै मसलायुक्त खाना खानु हुँदैन । अन्यथा चाडपर्वको क्षणिक स्वादले नै दीर्घरोग निम्त्याउन सक्छ । यसर्थ हामीले सधैं र बिशेष गरी चाडपर्वको समयमा आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरी खाने बानी बसाल्न सकेमा स्वस्थ नेपालको निर्माण सम्भव हुन्छ ।
स्वास्थ्य खबरपत्रिकाबाट

२०७३ असोज १८ गते प्रकाशित