कार्गिलको युद्धमा लेखिएको थियो – नमुछे आमा दहीमा टीका, नछरे जमरा

प्रत्येक वर्ष दशैंमा एउटा गीत खुब गुञ्जन्छ – नमुछे आमा दहीमा टीका नछरे जमरा ! वर्षौं पहिलेदेखि दशैंको समयमा रेडियोहरूमा बज्ने र आम श्रोताहरूले पनि खुब मन पराएको गीत हो यो । घर बस्ने बाआमा मात्र होइन, दशैंमा घर जान नपाउनेहरूलाई पनि यो गीतले भित्रैदेखि छुन्छ ।
नारायण नारायमाझीले एकसरो लोकभाकामा गाएको उक्त गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएका थिए । अहिले कृष्णभक्त राईले गाएको स्वर निकै चल्तीमा छ ।
नारायण रायमाझीका दाइ लक्ष्मण रायमाझीले उक्त गीत लेखेका हुन् । गीतको रचनागर्भका बारेमा गायक राई भन्छन्, ‘ लक्ष्मण दाइले आफ्नै भावना लेख्नुभएको हो कि जस्तो लाग्छ तर पछि त्यो गीत मेरै जीवनमा मेल खान पुग्योे ।’
नारायण रायमाझी अहिले अमेरिकामा छन् भने लक्ष्मण बितिसके । दृष्टिविहीन कृष्णभक्त अहिले पनि काठमाडौंमै छन् । धनकुटामा जन्मिएका उनलाई दशैंमा घर जानुपर्ने खास कारण नै छैन । दृष्टिविहीन राई काठमाडौंमै संघर्ष गरिरहेका छन् ।krishnabhakta-rai
‘आमाबुवा र दाइ बित्नुभयो,’ उनले भने, ‘भाउजु र भतिजहरू त छन् तर मलाई माया गर्ने मान्छे बितेपछि म गाउँ जानुको अर्थै रहेन ।’ नमुछे आमा दहीमा टीकामै भनिएझैं उनी अचेल आफ्नै गाउँका लागि समेत बिरानो भएका छन् ।
‘काठमाडौं मेरा लागि परदेशै त हो, कहिले मान्छेसँग ठोकिन्छु, कहिले पोलमा ठोकिन्छु,’ राईले भने, ‘दशैंको बेला यो गीत बज्दा आफ्ना कोही छैनन् भनेर दुःख पनि लाग्छ, खुब चल्यो भनेर सुख पनि लाग्छ ।’ राईले गाएको सबैभन्दा चलेको गीत नै यही हो ।
यो गीत राईले नै गाउनुमा पनि एउटा संयोगले काम ग¥यो । नारायण रायमाझीले खोलेको रिमा रेकर्डिङ स्टुडियोमा राई काम गर्थे । ‘त्यहीँ काम गर्दागर्दै यो गीत गाउने सौभाग्य पाएँ,’ उनले भने, ‘मसँग त एक रुपैयाँ पनि थिएन, नारायण दाइले नै यो गीतमा लगानी पनि गर्नुभयोे ।’
राईले यो गीत गाउँदा लक्ष्मण निकै बिरामी थिए । बोल्न सक्दैनथे । लेखेरै खुब राम्रो गायौ भनेर प्रशंसा गर्थे स्वर्गीय लक्ष्मण ।
यसरी जन्मिएको थियो गीत
लक्ष्मण रायमाझी भारतीय सेनामा काम गर्थे । उनी सन् १९९९ मा भएको भारत पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’मा पनि लडेका थिए । त्यही बेला उनले त्यो गीत लेखेका थिए ।
‘दाइले यो गीत धेरे पहिले लेख्नुभएको रैछ,’ राईले सुनाए, ‘कार्गिल युद्धको बेला पहिलोपटक यो गीत निस्किएको हो ।’
नारायण रायमाझीले पहिले गाएको यहीे गीतको खासै चर्चा नभएको भएपनि राइले २०५७ सालमा गाएपछि भने यो गीतले खुबै चर्चा कमायो । गायक राईलाई नारायण रायमाझीले भने अनुसार लक्ष्मणले यो गीत कार्गिल युद्धकै समयमा पठाएका थिए । केही समय नारायणले यो गीतलाई वास्ता गरेनछन् ।
‘नारायण दाइले गीत रेकर्ड नगर्दा लक्ष्मण दाइ पहिले एकदमै दुःखी हुनुभएछ, अनि एक दिन खबर पठाउनुभएछ, अब ढिला भैसक्यो यो गीत रकर्ड नगर्नू ।
लक्ष्मणको यस्तो सन्देश आएपछि दुःखी हुने पालो नारायणको आएछ । उनले एक दुई दिनमै निकै मेहनत गरेर उक्त गीत रेकर्ड गराएछन् । ‘मैले त मौकाले गाउन पाएको हुँ,’ राईले भने, ‘यो गीत शुरूमै बडो मुस्किलले आएको रैछ ।’
राईले लक्ष्मणले कार्गिल युद्धकै बेलामा आफूले भोगेको अनुभवलाई समेटेर उक्त गीत लेखेको हुनसक्ने समेत बताए । जमरा र टीकाको सन्दर्भ जोडिएको यो गीतले प्रत्येक दशैंमा आफन्त र घरपरिवार भेट्न नपाउने नेपाली जातिलाई चिमोटिरहेको छ र चाडपर्वप्रति हुरुक्क बनाइनैरहेको छ । पुरानो हुँदै जाँदा श्रोताको मनमा गड्दैछ यो गीत ।

लोकान्तर अनलाइनबाट साभार ।

२०७३, असोज १५ गते प्रकाशित