स्मार्टफोन सुरक्षा गर्ने तरिका

महँगो मूल्यमा खरिद गरिएको स्मार्टफोनको सुरक्षा महत्वपूर्ण विषय हो । सामान्य गल्तीले गर्दा महँगो मूल्यमा किनेको स्मार्टफोन बिग्रन सक्छ । त्यसैले मोबाइल खरिद गर्नासाथ सुरक्षाका लागि केही उपाय अपाउनुपर्ने हुन्छ । मोबाइलको सुरक्षा गर्ने उपाय यस्ता हुन सक्छन् :
सुजन राजभण्डारी
प्रिन्स मोबाइल
नयाँ बानेश्वर
प्रिमियम स्मार्टफोनको डिस्प्ले फुट्ने तथा चर्केने समस्या धेरै हुन्छ । स्मार्टफोनको सुरक्षा गर्न स्क्रिनमा राम्रो क्वालिटीको टेम्पर्ड ग्लास लगाउनुपर्छ । सामान्य स्क्रिनले फोनमा स्क्र्याच हुनबाट मात्र जोगाउँछ । तर, फोन हातबाट खसेको अवस्थामा स्क्रिनलाई बचाउन टेम्पर्ड ग्लास नै उपयोगी हुन्छ ।
मोबाइलको सुरक्षाका विषयमा सम्झौता नगर्दा नै राम्रो हुन्छ । आफ्नो स्मार्टफोनको बडी स्क्रयाच, दाग तथा फोहोरबाट बचाउन राम्रो क्वालिटीको ब्याक कभर आवश्यक पर्छ । अहिले बजारमा फेसनेवल तथा आकर्षक देखिन ब्याक कभरहरू सहजै उपलब्ध हुन्छन् । आफ्नो आवश्यकताअनुसार यस्तो कभर प्रयोग गर्नु उपयोगी हुन्छ ।
अहिले केही कम्पनीले स्मार्टफोनको बिमा गर्ने योजना पनि सार्वजनिक गरेका छन् । यसमा फिजिकल ड्यामेज, लिक्विड ड्यामेज तथा अन्य मेकानिकल खराबीजस्ता विषय समावेश भएका हुन्छन् । कुनै कारणवश स्मार्टफोनमा यीमध्ये कुनै खराबी देखापरेमा बिमा दाबी गर्न सकिन्छ । यसले ठूलो आर्थिक नोक्सानीबाट बच्न सहयोग गर्छ ।
फोनमा राखिएका व्यक्तिगत फोटो, डाटा, म्यासेज वा अन्य सामग्री गोप्य राख्ने सबैको चाहना हुन्छ । यसका लागि एप लकको प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड फोनमा गुगल प्लेस्टोर डाउनलोड गर्नुपर्छ । मोबाइलमा रहेको कुनै पनि एप, फोटो ग्यालरीलगायतका अन्य सामग्री यही एपको मद्दतले लक गर्न सकिन्छ ।
स्मार्टफोन चोरी भएमा पत्ता लगाउन सकिन्छ । तर, एन्ड्रोइड स्मार्टफोनमा एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट हुनुपर्छ । यसले हराएको स्मार्टफोनको लोकेसन पत्ता लगाउन सजिलो हुन्छ । यसका लागि स्मार्टफोनको गुगल सेटिङमा जाने । स्क्राल तल गर्दा सेक्युरिटी अप्सन देखापर्छ ।
यसबाट एन्ड्रोइड डिभाइस म्यानेजर अप्सनमा जान सकिन्छ । त्यसपछि रिमोट्ली लोकेटेड दिस डिभाइस तथा अलो रिमोट लक एन्ड इरेज अन अर अफ मा टिक मार्क लगाउने । यसो गर्दा विशेष ध्यान पु-याउनुपर्छ । लोकेसनको सेटिङमा गएर एसेस टु माई लोकेसनलाई पनि अन गर्नुपर्छ । यसका साथै गुगल साइन इन हुन पनि आवश्यक छ ।
स्मार्टफोनको स्क्रिनको सुरक्षासँगै डाटाको सुरक्षा पनि आवश्यक छ । नयाँ फोन हात पर्नासाथ एन्टिभाइरस तथा डाटा सेक्युरिटी सफ्टवेयर इन्स्टल गर्नुपर्छ । यसले मोबाइलका महत्वपूर्ण डाटा तथा सफ्टवेयरको सुरक्षा गर्छ ।

नयाँ पत्रिकाबाट साभार

२०७३ असोज १० गते प्रकाशित