सहकारी आन्दोलनको अवको भूमिका

विष्णुहरि ढकाल
नेपाली जनताले लामो समयदेखि विभिन्न समयमा क्रान्ति, आन्दोलन, संघर्ष चलाएर निकै ठूलो वलिदानी दिए पछि २०६२।०६३ को महान जनक्रान्ति सम्पन्न भयो । जनक्रान्तिको उपलव्धि रक्षागर्न २०६४ सालमा सम्पन्न पहिलो संबिधानसभा सफल भएन तर पनि धेरै विषयहरु पहिलो संबिधान सभाले टुङ्गो लगायो । २०७० सालमा दोश्रो संबिधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संबिधानसभाले गरेका कामहरुको स्वामित्व लिएर वाँकी कामहरु सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित संविधानसभावाट व्यापक सहमतिमा नेपालको संबिधान २०७२ निर्माण गरी लागू गरिएको छ । विश्वको नयाँ संबिधान मध्येमा पर्ने नेपालको संबिधान २०७२ मा विश्व मानव समुदायले हालसम्म विकास गरेका ज्ञान र अनूभवहरु अप्नाउने अठोट गरिएको छ ।
नेपाल राष्ट्र र जनताले भोग्नु परेका पराधिनता, असमानता, शोषण, उत्पिढन, गरीवी, रोग, भोक, अशिक्षा जस्ता शत्रुहरु परास्त गर्ने र स्वाधिन अर्थतन्त्रको विकास गरी समुन्नत, शान्त नेपाल निर्माण गर्ने उपायहरुको दस्तावेज मानिएको संबिधानले नेपाली जनताका मौलिक हकहरुको सूची समेत किटान गरेको छ । संबिधानमा संगठितभई गतिविधि सञ्चालन गर्न पाउने हक, संपत्तिको हक, सूचना र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक, पोषणको हक, समानताको हक, स्वास्थ्य, शिक्षा, रोजगारीको हक लगायत धेरै विषयहरु राज्यले सुनिश्चित गर्ने प्रतिवद्धता जनाइएको छ ।
नेपालको संबिधान २०७२ ले आर्थिक, सामाजिक साँस्कृतिक रुपान्तरणको निम्ति सरकार, सहकारी र नीजि क्षेत्र तीनवटै पक्षको सक्रिय भूमिकाको परिकल्पना गरेकोछ । सहकारीलाइ महत्वपूर्ण क्षेत्रको रुपमा संबिधानले पहिचान गरेको हुँदा नेपालको सहकारी क्षेत्रले आफ्नो भूमिका व्यापक रुपमा वढाउन बैचारिक, संगठनिक, आर्थिक, भौतिक र नैतिक रुपले दायित्व वहन गर्न ढिलो गर्नु हुँदैन । यस लेखमा हामी सहकारी क्षेत्रको भूमिकाको वारेमा छलफल गर्दैछौं ।
नेपालमा सहकारी भावनाको अभ्यास निकै पुरानो मानिन्छ । महामानव बुद्धले दिनु भएको दिव्य ज्ञान र उक्त ज्ञानको अभ्यासका कारण नेपाली संस्कृति र जनमन सहकारी मैत्री छ । बुद्धम् सरणम् गच्छामी, संगम् सरणम् गच्छामी, धम्मम् सरणम् गच्छामी । बुद्धम् सरणम् गच्छामी अर्थात पछिल्लो विकसित मानव चेतना अर्थात ज्ञानको साहारा लिने विषय, एकै किसिमले चिन्तन गर्ने, ज्ञानको अभ्यास गर्ने मानीसहरु संगठितभई सामुहिक जीवन पद्धती अप्नाएर एकसाथ अघि वढ्ने विषय, धम्मम् सरणम गच्छामी अर्थात सिद्धान्त र मूल्यहरुलाई धर्मको रुपमा अप्नाउने विषय आधुनिक सहकारीसंग नजिकको सम्वन्ध भएको विषय हो । नेपालमा सहकारीको इतिहासको कुरा गर्दा बुद्ध दर्शन र त्यस अधिका पूर्विय दशर्न एवं जीवन पद्दति र त्यसले पारेको सास्कृतिक प्रभाव समेतको ब्याख्या गरिनु पर्दछ ।
१७२ वर्ष अघि युरोपवाट सुरु भएको आधुनिक सहकारीको अभ्यास नेपालले ११२ वर्ष पछि अप्नायो । अर्थत ६० वर्ष अघिदेखि नेपालमा आधुनिक सहकारीको अभ्यास भएको हो । निरंकुस पञ्चायती व्यवस्थाको कारण नेपालमा सहकारीको विकास हुन सकेन । नेपालमा सहकारीको अभ्यास आरम्भ गर्दाकै समयमा पनि राजनीतिक अस्थिरता थियो । २००७ सालको क्रान्तिका उपलव्धिहरुलाई सस्थागत गर्न संबिधानसभावाट संबिधान निर्माण गरी जनतालाई सार्वभौम सत्ता सम्पन्न वनाई मूलुकलाई समुन्नत र शान्त वनाउने जनताको चाहानालाई अनेक षढयन्त्रद्वारा विफल वनाइएको थियो । २०४६ सालको जनआन्दोलनको वलमा वनेको नेपालको संबिधान २०४७ पछि वनेको सहकारी ऐन २०४८ का कारण नेपालमा सहकारी आन्दोलन गतिशिल वनेको हो । २०६२।०६३ को जनक्रान्ति पछि वनेको नेपालको अन्तरिम संबिधान २०६३ मा सार्वजनिक, सहकारी र नीजि तीन खम्वे अर्थ नीति अप्नाउने उल्लेख भएपछि नेपालको सहकारी आन्दोलनले संवैधानीक मान्यता पाएको हो । नेपालको संबिधान २०७२ ले पनि यसलाई निरन्तरता दिएको छ ।
देशमा विद्यमान अपार प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर देशलाई समृद्ध र शान्त वनाउन सकिने प्रचुर संभावना एकातिर छ भने अर्को तर्फ नेपाल अहिले श्रम प्रदान जनसंख्या वाहुल्यताको लाभमा छ । अर्थात काम गर्न सक्ने जनसंख्या धेरै भएको अवस्थामा छ । यस्तो अवस्था अवको २० वर्ष सम्म रहने अनुमान गरिएको छ । श्रमशक्तिको हिसावले अहिले नेपाल सुवर्ण युगमा छ । यस्तो समयमा यूवा शक्ति स्वदेशमा वेरोजगारीको चपेटामा परेर विदेशमा दयनिय श्रम गर्न वाध्य छन् ।
गाँउ गाँउमा रहेका सहकारी संगठनहरुले जनतालाई बैचारिक हिसावले तेजिलो वनाई म सार्वभौम सत्ता सम्पन्न नागरिक हुँ । मेरो समाज, मेरो देश मैले वनाउनु पर्दछ, म कसैको आसमा समय विताउने परजीवी होइन, मेरो दृढ इच्छा शक्तिले गर्न नसक्ने केही छैन । म वेरोजगार वनेर अरुको भर पर्ने होइन, म प्रसस्त रोजगारी सृजना गर्न सक्दछु । म वुद्ध जन्मेको देशको नागरिक हुँ, म अर्को बुद्ध वनेर संसारलाई ज्ञानको श्रोत वन्ने छु । म सीता जन्मेको देशमा जन्मेको छु,, म सीताको नयाँ सस्करण वन्ने छु । म अरनीको वन्ने छु । म भृकुटीको नयाँ सस्करण वन्ने छु । विश्वका हरेक नागरिक र राष्ट्रले नेपाल र नेपालीको नाम गौरवका साथ लिने अवस्थामा पुर्याउन मैले धेरै गर्नु छ । म संग समय निकै थोरै छ त्यसैले म समय भन्दा अघि कुद्न चाहान्छु । भन्ने संकल्प जनमनमा उत्पन्न गर्ने स्वाभवलम्वन शिक्षा अभियान सञ्चालन गर्न आवश्यक छ । यो नै सहकारीको प्राण वायू हो ।
उल्लेखित स्वाभलम्वन शिक्षा अभियान संगसंगै जागरुक जनतालाई पारस्परिकताको आधारमा सीप, प्रबिधि, पूँजी, वजार आदी पूर्वाधार प्रवन्ध गरेर सहकारी संगठनले उत्पादन र सेवाको क्षेत्रमा परिचालन गर्न सक्दछ । यस्तो एकिकृत अभियान सञ्चालन गर्ने उपयुक्त संयन्त्र स्वयम जनताको सहकारी वाहेक अर्को कुनै हुँन सक्दैन । सहकारीको विश्वव्यापी संगठन, अनुभव, सिद्धान्त र मूल्यहरुवाट लाभ लिएर नेपालले मौलिक रुपमा आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गर्ने प्रचुर संभावना छ ।
यसको निम्ति सहकारी संगठनहरु स्वयमले प्रसस्त सिक्न आवश्यक छ । आवश्यत्ता भन्दा धेरै संगठनहरुबीच एकता र क्षमता बृद्धि अभियान, फरक उद्देस्यका सस्थाहरुबीच व्यवसायीक सहकार्यद्वारा उत्कृष्ठता एवं व्यवसायिकता, जनताकाबीच व्यापक पहुँच बृद्धि, सरकार र नीजिक्षेत्रलाई विश्वासमा लिनको निम्ति उदाहरणीय कार्यहरु र निरन्तर संवाद अति आवश्यक विषय हो ।
नेपालमा सूचना तथा सञ्चारका क्षेत्रमा काम गर्ने विषयकृत सहकारी सस्थाहरु, जिल्ला संघहरु र केन्द्रीय संघ समेत गठनभई क्रियाशिल रहेको अवस्था छ । देशभर १०० भन्दा धेरै सूचना तथा सञ्चार विषयमा काम गर्ने सस्थाहरु र ७५ भन्दा धेरै एफएम रेडियो, दर्जनौ पत्रपत्रिका र स्थानिय टेलिभिजन माध्यम, अनलाइन पत्रिका माध्ययम सञ्चालन गर्ने सस्थाहरु क्रियाशिल छन् । नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक उपभोग गराउनुकासाथै मानव अधिकार, सुसासन, दिगो विकास अभियान, प्रबिधि हस्तान्तरण र सहकारी शिक्षा अभियानमा यी संगठनहरुले ठूलो योगदान गरिरहेका छन् । अन्य विषयका सहकारी संगठनहरुमाझ यी संगठनहरुको महत्व बुझाउन र अन्तर सहकारी सहकार्यको सिद्धान्त अनुसार स्वाभलम्वन जागरण, ज्ञान, सीप र प्रबिधि हस्तान्तरण, एवं सहकारी शिक्षा अभियानमा सञ्चालन गर्न आवश्यक छ । केन्द्रीय तह र स्थानीय तहमा यस विषयमा आन्दोलनकै रुपमा काम गर्ने वातावरण वनाउन सबै सहकारीकर्मी, नीति निर्माता र राजनीतिककर्मी महानुभावहरुलाई सादर अनुरोध गरौ ।
काठमाडौं
(ढकाल नेपाल सूचना तथा सञ्चार केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष हुनुहुन्छ ।)